जनता टाइम्स

१९ मंसिर २०७८, आईतवार १७:२५

नेपालमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण, ४३६ जना निको


काठमाडौं, मंसिर १९ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झरेको छ । पीसीआर र एन्टिजेन गरी १० हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा एक दशमलव नौ प्रतिशत अर्थात् दुई सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय ३६ जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख चार हजार पाँच सय ४४ पुगेको छ ।

यही अवधिमा एक जनासहित कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४१ पुगेको छ ।

अहिले नेपालमा ६ हजार पाँच सय सात जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा ५७ हजार नौ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।