जनता टाइम्स

१३ असार २०७६, शुक्रबार १७:०२

एसईई ग्रेडिङले नतिजामा सुधार गरेन, कम ग्रेड ल्याउने खाडि जान बाध्य


काठमाडौं, १३ असार

सरोकारवालाहरुले एसईईको ग्रेडिङ प्रणाली त्यति सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।
उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले आफूहरुले अनुमान गरेझैं एसईईको नतिजा आएको बताउनु भएको छ । उहाँले भन्नुभयो,‘यो नतिजालाई लिएर आश्चर्य मान्नुपर्ने छैन ।’

उहाँले ग्रेडले नतिजामा कुनै फरक नपारेको बताउनु भयो । ग्रेडिङले पास र फेलको अवधारणालाई नै आत्मसात गरेको बताउनु भयो । सामूदायिक विद्यालयको स्तरोन्नती गर्नुपर्नेतर्फ उनले सरकारको ध्यानाकार्षण गराउनु भयो ।

उहाँले भन्नुभयो‘परीक्षाको बेलामा मात्रै ध्यान दिएर हुँदैन, अब परीक्षा अघि र पछिको व्यवस्थापकीय कुरामा पनि सामूदायिक विद्यालयहरुले विशेष ध्यान दिनुपर्छ ।’

नेपालमा पाठ्यक्रम विकास गर्दा पर्याप्त छलफल तथा परामर्श नै नभएको पनि भण्डारीको गुनासो छ । सामूदायिक विद्यालयतर्फबाट राम्रो नतिजा ल्याउने विद्यार्थीको पृष्ठभुमि निजी विद्यालयमा अध्यायन गर्नु नै मुख्य रहेको पनि उहाँको दाबी छ ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विगतमा ग्रेडिङ नहुँदा विद्यार्थीहरुले आत्महत्या गर्ने गरेको भएपनि अहिले ग्रेडिङले त्यस्तो अवस्था नरहेको बताउनु भयो ।
उहाँले कम ग्रेड ल्याउने विद्यार्थीहरु अन्ततः रोजगारीको लागि खाडी मुलुक जाने बताउनु भयो । शिक्षक शिक्षणको कमजोरीका कारण नतिजा सन्तोषजनक नआएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो,‘अहिलेको शिक्षा पद्धतीनै गलत छ । यसलाई सच्याउनुपर्छ ।’ व्यवहारिक शिक्षा प्रणालीलाई लागु गर्नुपर्नेमा जोड दिनुपर्छ ।

कार्यक्रममा एन–प्यावसनका अध्यक्ष ऋतुराज सापकोटाले एसईई दिईसकेपछि र नतिजा नआउन्जेलसम्म विद्यार्थीहरु तहविहीन भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘यो अवधिमा विद्यार्थीहरु कुलतमा फस्ने खतरा धेरै छ । त्यसैले यो अवधिलाई ध्यान दिएर उनीहरुको तह छुट्याउनुपर्छ ।’