जनता टाइम्स

२० मंसिर २०७८, सोमबार १०:३०

भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा आतंक : प्रधानमन्त्रीपत्नीको असुली धन्दामा मन्त्री-सचिवको साथ


काठमाडौं, मंसिर २० । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आर्थिक लेनदेनको आधारमा सरुवा आतंक मच्चाएको तथ्य खुलेको छ । बिकासे मन्त्रालय भनेर चिनिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिनियोजित बार्षिक बजेटमध्य हालसम्म ७ प्रतिशत पनि खर्च गर्न नसकेको स्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र सचिव रबिन्द्रनाथ श्रेष्ठको मिलोमतोमा झण्डै ५ दर्जन प्राबिधिक तथा आयोजना प्रमुखहरुको सरुवा गरिएको हो ।

सरुवामा करोडौं रकम असुली गरिएको मन्त्रालयकै एक अधिकारीले जनताटाइम्स डटकमलाई बताएका छन । ती अधिकारीका अनुसार आर्थिक लाभका आधारमा काम गरेपछि सरुवा भएर गएको एक बर्ष पनि नपुग्दै कैयौ बिभागीय प्रमुखहरु सरुवा भएका छन । मन्त्रालयले कन्फर्म आयोजना प्रमुखहरु तानेर कामबिहीन बनाउँदै तल्लो स्तरका प्राबिधिकलाइ कामु दिएर सरुवा गरिएको छ । यस काममा प्रधानमन्त्री पत्नी आरजु र मन्त्रालयका उच्च अधिकारीहरु मिसन नै बनाएर लागेका छन ।

मन्त्रालयले दुई साताअघि प्राविधिक सहसचिव (सुई) को दरबन्दी रहेका सडक आयोजनामा कनिष्ठलाई कामु बनाएको थियो । मन्त्रालयले पुनः डिभिजनल इन्जिनियर (डिई) को दरबन्दी रहेको स्थानमा पनि कामुको जिम्मेवारी दिएको छ । मन्त्रालयले धेरै बजेट विनियोजन गरिएका अधिकांश आयोजनामा वरिष्ठलाई झिकेर कामुलाई पठाएको हो ।

करिब १० अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको मदन भण्डारी र त्यत्ति नै बजेट छुट्ट्याइएको हुलाकी सडक आयोजनामा क्रमशः अशोक तिवारी र धमेन्द्र झालाई कामु दिइएको छ । त्यस्तै, १२ अर्ब रूपैयाँ बजेट रहेको मध्यपहाडीमा हरिप्रसाद पोखरेललाई कामु दिइएको छ । पोखरेललाई दुई वर्षअघि पोखरामा रहँदा घुस लिँदालिँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । यसपटक उहाँ सरकारको रोजाईमा पर्न सफल हुनुभएको छ । यस्तै ज्ञानेन्द्र झालाई संघीय सडक इटहरीको कामु बनाइएको छ । यी सबै आयोजनामा सुईको दरबन्दी राखिएको छ । कनिष्ठलाई ठूला आयोजनामा कामु बनाइँदा सुईहरू रोहित बिसुराल, प्रेमप्रकाश खत्रीका दीपक श्रेष्ठ र भीमार्जुन अधिकारी भने कामविहीन हुनुपरेको छ ।

यसैगरी सिनियर डिभिजनल इन्जिनियरको दरबन्दी रहेको हुलाकी सडक कपिलवस्तुमा विष्णुबाबु पाण्डेलाई कामु बनाइएको छ । सो आयोजनामा चालु आर्थिक वर्षका लागि एक अर्ब रूपैयाँ बजेट रहेको छ । त्यति नै बजेट छुट्ट्याइएको कालीगण्डकीमा कल्पना अधिकारी, करिब ७० करोड रूपैयाँ बजेट रहेको डिभिजन सडक चौरजहारीमा ध्रुव झा, सोही हाराहारीको बजेट रहेको जुम्लामा राजीव श्रेष्ठ, डेढ अर्ब रूपैयाँ बजेट रहेको डिभिजन सडक कैलालीलमा नरेन्द्र भट्टलाई कामु दिइएको छ ।

यसैगरी ८० करोड रूपैयाँ जति बजेट विनियोजन गरिएको हुलाकी सडक नेपालगन्जमा गागल भण्डारी, करिब ६० करोड रूपैयाँ बजेट रहेको जोमसोम–कोरलामा जगत प्रजापति, ४० करोड रूपैयाँ हाराहारी बजेट रहेको ताप्लेजुङ–ओलाङचुङगोलामा अमिन्द्र खड्का, ५० करोड रूपैयाँ बजेट रहेको जनकपुर परिक्रमा सडकमा रामटहल यादवलाई कामु दिइएको छ ।

चुनाव खर्च उठाउनका लागि अघि बढाइएको योजनाअनुसार चालु आर्थिक वर्षमा ८० करोड रूपैयाँ बजेट रहेको पुल योजना सेक्टर नम्बर ३ नेपालगन्जमा लीला भण्डारी, ५० करोड रूपैयाँ बजेट रहेको डिभिजन सडक अछाममा राजेश यादव, त्यत्ति नै हाराहारी बजेट विनियोजन गरिएको कोसी करिडोरमा दिपेश रजक, २० करोड रूपैयाँ बजेट छुुट्ट्याइएको डुम्रेबेसी सडक परियोजनामा अच्यूतविलाश पन्तलाई कामु दिइएको छ । यी सबै आयोजनामा सिनियर डिभिजनल इन्जिनियरको दरबन्दी रहेको छ । दरवन्दी रहेका सिनियर इञ्जिनियरले मोलमोलाइअनुसार नजाने बताएपछि प्रधानमन्त्री पत्नी र सचिव मिलेर कामु दिँदै असुली गर्ने धन्दा चलाइएको स्रोतको भनाई छ ।

कनिष्टलाई जिम्मेवारी दिँदा अहिले वरिष्ठ डिईहरू बेलबहादुर भुजेल, अर्जुन अर्याल, विनोद मौवार, कृष्णराज अधिकारी, खड्कलाल श्रेष्ठ, कृष्णनाथ ओझा, अर्जुन बम, सुनिलबाबु पन्त, गुरु अधिकारी, रामबहादुर गुरुङ र अंगलाल रोकाय जिम्मेवारीबिहीन हुनुपरेको छ । यीमध्ये बम, श्रेष्ठ, गुरुङलाई अवधि नपुगी आयोजनाबाट हटाइएको हो । दुई महिनाअघि डिईमा बढुवा भएका पारसमणि हमालले भने यस अवधिमा दुई आयोजनाको जिम्मेवारी पाउनु भएको छ । बढुवा हुनेबित्तिकै मदन भण्डारी सुर्खेत खण्डको जिम्मेवारी पाउनु भएका हमालले केही दिनअघि डिभिजन सडक पोखराको जिम्मेवारी हात पार्नुभएको छ । डिभिजन सडक पोखरा वरिष्ठ व्यक्तिले नेतृत्व गर्दै आएको ठाउँ हो ।
सरकारले प्राविधिक कर्मचारीको पनि जथाभावी सरुवा गर्न थालेको छ ।

एक साताअघि सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा मन्दिर नजिकै निर्माण हुन गइरहेको सिद्धबाबा सुरुङ मार्ग आयोजनाका प्राविधिक सहसचिव (सुई) विजय जैसीलाई हटाएर प्रभात झालाई दोहोरो जिम्मेवारी दिइएको छ । रेणु यादव भौतिक पूर्वाधार मन्त्री बनेपछि शक्तिशाली बनेका झालाई अघिल्लो महिना सडक विभागको सम्भार महाशाखाको जिम्मेवारीसहित उपमहानिर्देशक बनाइएको थियो ।

१४ महिनाअघि सुरुङ मार्गको जिम्मेवारी पाएका जैसीलाई अवधि पूरा नहुँदै तानेर झालाई दोहोरो जिम्मेवारी (सम्भार महाशाखा र सिद्धबाबा सुरुङ मार्ग) दिइएको हो । जैसीले टेन्डर आह्वान गरेको उक्त आयोजनामा यतिखेर ठेकेदार छनोटका लागि अन्तिम तयारी भइरहेको छ । ठेकेदार छनोटमा बदमासी गर्नलाई हतारहतार आयोजनाको नेतृत्व हेरफेर गरेको मन्त्रालयकै अर्का अधिकारी बताउँछन ।

तीन बाइपाससहितको एक हजार एक सय २६ मिटरको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि अर्थ मन्त्रालयले १० अर्ब रूपैयाँ सुनिश्चितता गरेको छ । पाँच वर्षभित्र सक्ने गरी आह्वान गरेको ठेक्का प्रक्रियामा सात चिनियाँ र दुई नेपाली ठेकेदार कम्पनी प्रतिस्पर्धामा छन । प्राविधिक मूल्यांकनको कार्य अन्तिम चरणमा पुगेको उक्त सुरुङमार्गमा आर्थिक मूल्यांकन पनि चाँडै गर्ने पक्षमा मन्त्री र सचिव रहेको कारण आफ्ना बफादार पठाइएको स्रोतले जनाएको छ ।

त्यस्तै, डिभिजनल इन्जिनियर दोरोका प्रसाद र राजेन्द्रप्रसाद दासलाई पनि दोहोरो जिम्मेवारी दिइएको छ । दोरोकालाई डिभिजन सडक रौतहट र हुलाकी सडक चपुर वीरगन्ज खण्डको जिम्मेवारी दिइएको छ । मदन भण्डारी हेटौंडा खण्डको प्रमुख रहेका राजेन्द्रलाई डिभिजन सडक हेटौंडाको पनि जिम्मेवारी थपिएको छ ।

यसअघि मन्त्रालयको नेतृत्व तह आर्थिक चलखेलमा लाग्दा अन्य आयोजनामा काबिल, सक्षम र वरिष्ठ कर्मचारीको साटोमा कनिष्ठ र अनुभव नभएकालाई जिम्मेवारी दिइएको थियो । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनामा कार्यरत प्राविधिक सहसचिव (सुई) रोहित बिसुराललाई अवधि नपुगी सरुवा गरेर कनिष्ठ डिई धमेन्द्र झालाई कामुको जिम्मेवारी दिइएको थियो । सडक विभागका रहेका डिईहरूको सूचीमा झा २४औं नम्बरमा छन ।

त्यस्तै, संघीय सडक इटहरीमा १५ औं नम्बरमा रहेका ज्ञानेन्द्र झालाई कामु बनाइएको छ । त्यहाँ पनि प्राविधिक सहसचिवको दरबन्दी छ । वरिष्ठ सहसचिवले नेतृत्व गर्दै आएको मन्त्रालयको योजना महाशाखाको प्रमुखमा ललिजन खनाललाई लगिएको छ । केही महिनाअघि खनालसँगै बढुवा भएका प्रेमप्रकाश खत्रीलाई भने कुनै जिम्मेवारी दिइएको छैन ।

यसै त वर्तमान सरकार आएपछि बिकाश निर्माण ठप्प भएको छ, त्यसमाथि पनि बर्षा र चाड सकिएर ब्यापक काम गर्नुपर्ने समयमा आर्थिक चलखेल गरेर आयोजना र बिभागीय प्रमुखहरु सरुवा गर्ने कामले सडक पुर्वाधारमा बिनियोजित रकम खर्च हुने संभावना टरेको मन्त्रालयका अधिकारीहरुको बुझाइ छ ।