जनता टाइम्स

२० मंसिर २०७८, सोमबार १५:३१

कान्छी उम्मेदवार डा अलबिरा खान कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित


बुटवल, मंसिर २० । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशनमा कान्छी उम्मेदवार बनेर चर्चामा आएकी २४ वर्षीया डा. अलविरा खानले चुनाव जित्नुभएको छ । बाबुको प्रेरणाबाट राजनीतिमा लागेकी खानले ८८१ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । खानले आफ्ना प्रतिष्पर्धी जन्तुल धुनियालाई २९२ मतले पछाडि पार्दै बिजयी हुनुभएको हो ।

डा. खान यसअघि कपिलवस्तुको निर्वचन क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रतिनिधि चुनिनु भएको थियो । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्यानलबाट उम्मेदवारी दिनुभएकी खान प्रदेश समिति सदस्यमा विजयी हुनुभएको हो ।

जीतपछि प्रतिक्रिया दिँदै कपिलवस्तुको कृष्णनगरकी बासिन्दा खानले आफ्नो चिकित्सकीय पेसा र पार्टी राजनीतिलई एकसाथ अगाडि बढाउने बताउनु भयो । मुस्लिम समुदयका महिलामा राजनीतिप्रतिको चेतना जगाउने काममा आफूले भूमिका खेल्ने उहाँको भनाई छ ।

खान १३औं महाधिवेशनमा पनि प्रतिनिधि निर्वाचित हुनुभएको थियो । विद्यालय पढ्दादेखि नै नेविसंघमा रही राजनीति सुरू गर्नुभएकी खानले एमबीबीएस पूरा गर्नुभएको छ । ‘अझै बिरामीको उपार सुरु गरेकी छैन, अब नेपालमै इन्टर्न गरेर उपार सुरु गर्छु,’ उहाँले भन्नुभयो । उहाँका पिता अकिल मियाँ यसअघिका कांग्रेसका क्षेत्रीय सभापति हुनुहुन्थ्यो । अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिनु भएको छ ।