जनता टाइम्स

२० मंसिर २०७८, सोमबार १८:५२

‘एरियाको दादा हुँ’ भन्दै म्यानपावर कम्पनीबाट ९० लाख असुली गर्ने दुईजना पक्राउ


काठमाडौं, २० मंसिर । महानगरीय प्रहरी अपराध महाशाखाले म्यानपावर कम्पनीबाट धम्क्याउँदै रकम असुली गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ ।काठमाडौंको पानीपोखरीस्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई विदेश जाने र गएका प्रतिकामदार २५ हजार रुपैयाँ माग्दै धम्काएका उनीहरुलाई दुई दिनअघि पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौं गंगाहिटीका मिलन जोही र दोलखा घरभई बालुवाटार बस्ने रबिन्द्र बस्नेत रहेको महाशाखाले जनाएको छ ।जोशी र बस्नेतले हालसम्म उक्त म्यानपावर कम्पनीबाट करिब ९० लाख २५ हजार रुपैयाँ असुल गरिसकेको प्रहरी भनाइ छ ।म्यानपावर कम्पनी पनि नचलेको अवस्थामा रकम माग्दै सञ्चालकका श्रीमती र बालबच्चालाई समेत ज्यान लिने धम्की दिएपछि प्रहरीसमक्ष उजुरी पुगेको थियो । प्रहरीको उजुरीपछि अपराध महाशाखाले दुई अभियुक्तलाई पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले समूह बनाएर विभिन्न म्यानपावरमा प्रवेश गर्ने यस्तो समूह बिरुद्ध महाशाखाले कारबाही थालेको बताउनुभयो ।एसएसपी खापुङले धम्क्याएर रकम असुली गर्नेहरुविद्ध निर्धक्क उजुरी दिन समेत सबैमा आग्रह गर्नुभएको छ ।