जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार १४:५४

सहयोगको याचनासहित ओली निवास पुग्यो बार



काठमाडौं, मंसिर २१ । नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन नेकपा एमालेको सहयोग मागेको छ ।

एमाले अध्यक्ष ओलीबिरुद्ध आपत्तिजनक आक्षेपसहित गाली गलोजमा उत्रिएका बारका पदाधिकारी र पूर्वपदाधिकारीसहितको हड्ताली समूहका वरिष्ठ अधिवक्ताहरुसहित आज एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको निवास बालकोट पुगेर प्रधानन्यायाधीश हटाउन सहयोगको याचना गरेको हो ।

अध्यक्ष ओलीसँगको भेटमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले एमालेको सहयोगबिना महाअभियोग पारित नहुने भन्दै सहयोग माग्नुभयो । सत्ता गठबन्धनले महाअभियोग लगाउन सहमति जनाएको संकेत गर्दै श्रेष्ठले एमालेको सहयोग भएमात्र पारित हुने भएकाले ओलीसँग सहयोगकोयाचना गर्नुभएको थियो । श्रेष्ठले अदालतभित्रबाट अहिलेको समस्या समाधान नहुने र चोलेन्द्र शमसेर भ्रष्टाचारीको नाइके भएकाले अदालतमा राख्न नहुने दावी गर्नुभएको थियो ।

श्रेष्ठले भने( सबै दल नमिल्दा महाअभियोग पास हुँदैन । दलहरुले आन्तरिक गृहकार्य गरिरहेको होलान् तर बाहिरबाट हेर्दा बेवास्ता भइरहेको देखिन्छ । जिम्मेवार प्रतिपक्षको नेता र हिजोको दिनमा पनि न्यायपालिकाभित्र विसंगतिका कुरा हुँदा बेठिक भइरहेको छ भनेर आवाज उठाएको नेतालाई भौतिक रुपमै भेटेर कुरा राख्न आएका हौं ।