जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार ०९:००

काँग्रेसको १४ औं महाधिवेशन : पार्टीको नीति र कार्यक्रम पेस नहुने


काठमाडौँ, मंसिर २२।  नेपाली काँग्रेस १४ औं महाधिवेशनको अन्तिम तयारीमा छ । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको काँग्रेसले मंसिर २० सम्म प्रदेश अधिवेशन पनि सम्पन्न गरेको छ । प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने गरी स्थगित गरिएको छ । प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेतृत्व चयन भएको छ । काँग्रेसले काठमाडौंको भृकुटीमण्डपमा यही मंसिर २४ गतेदेखि २७ गतेसम्म महाधिवेशन गर्दैछ । महाधिवेशनका मतदाता (महाधिवेशन प्रतिनिधि)को इन्ट्री भने २१ गतेबाटै सुरु भएको काँग्रेस निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म काँग्रेसले ४ हजार ३१९ महाधिवेशन प्रतिनिधिको जनाको नाम इन्ट्री गरेको छ ।


यस्तो छ तालिका

मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र पुलिस क्लबमा मतदान स्थल बनाइनेछ । १४ औं महाधिवेशनका लागि २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स राखिने छ । १३ औं महाधिवेशनमा ९ प्रकारका मतपत्र थिए भने यसपटक १२ प्रकारका रहेका छन् । सभापति, पदाधिकारी, खुला केन्द्रीय सदस्य, प्रदेशबाट निर्वाचित हुने सदस्य, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गता लागि छुट्टाछुट्टै मतपत्र बनाउनेछ ।

पार्टीको नीति र कार्यक्रम पेस नहुने

सोही दिन दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुने कार्यक्रम छ । १४ औं महाधिवेशनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस गर्ने छन् । यस्तै यसअघिको महासमिति बैठकपछि महाधिवेशनले पारित गर्ने गरी गरिएका निर्णयसम्बन्धी अनुमोदन प्रतिवेदनहरू पेस गरिने छ । नेतृत्वमा छनोटका लागि मात्र हुन लागेको काँग्रेसको १४ औं महाधिवेशनमा विचार , नीति तथा कार्यक्रममाथि बहस हुने छैन । काँग्रेसले महाधिवेशनमा नीति तथा कार्यक्रम पनि पेस गर्ने छैन । काँग्रेसले १४ औं महाधिवेशनपछि मात्र नीति महाधिवेशन अलग्गै गर्ने भएको छ ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २०४६ पछि एउटै महाधिवेशनमा नेतृत्व र नीतिका बारेमा छलफल एवं निर्णय गर्दा नीति निर्धारणको काम ओझेलमा परेकाले यस पटक नयाँ नेतृत्व छनोटमै काँग्रेस महाधिवेशन विशेष रुपमा केन्द्रित हुने बताए । नवनिर्वाचित कार्यसमितिले नीतिका विषयमा छलफल र निर्णय गर्न अर्को नीतिगत महाधिवेशन गर्ने निर्णय काँग्रेस केन्द्रीय कार्यसमितिले यसअघि नै गरिसकेको प्रवक्ता शर्माको भनाइ छ ।