जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार १७:५६

सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नमाथि कारबाही गर्ने कानुन बन्न दिएन : इश्वर पोखरेल


काठमाडौं, मंसिर २२ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्न नदिएको खुलासा गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा उपप्रधानमन्त्री समेत रहनुभएका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणका अपराधीहरुलाई कारवाही गर्नका लागि आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गर्न नदिएको बताउनु भएको हो ।

अनेरास्ववियू महिला विभागले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले एसिड आक्रमणमा परेका पीडितहरुलाई न्याय दिने काममा समेत सरकारले कानुन बन्न नदिएर अवरोध सृजना गरिरहेको बताउनु भयो । उहाँले महिला हिंसा हुन नदिनका लागि विद्यार्थी संगठनहरुले सरकारलाई दवाव दिनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।

महिला हिंसा अन्त्यका लागि राजनीतिक अभियाननै संचालन गर्नुपर्ने भन्दै पोखरेलले त्यसका लागि अनेरास्ववियूले सामाजिक जागरण अभियान संचालन गर्नुपर्ने सुझाव दिनुभयो । ‘एसिड आक्रमण गर्नेहरुमाथि छुट दिनुहुन्न, त्यो एउटा गम्भिर अपराधको रुपमा लिनुपर्छ र दण्डित गर्नुपर्छ भनेर हामीले संसद नचलेको बेला अध्यादेश ल्यायौं । अनि यो गठबन्धनकारीहरुले के गर्यो भन्दा त्यो अध्यादेशलाई प्रस्तुत गर्न समेत दिएन । जसले गर्दा यो एसिड आक्रमणमा परेका पीडितहरुको न्याय पाउने कुरालाई कसरी अवरोध सृजना गरियो,’ पोखरेलले भन्नुभयो ।