२२ मंसिर २०७८, बुधबार ००:००

कांग्रेसले महाधिवेशनका लागि जारी गर्‍यो ६ बुँदे आचारसंहिता


काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । कांग्रेस निर्वाचन समितिले आज एक विज्ञप्ति जारी गर्दै आचारसंहिता बारे जानकारी दिएको हो । उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील गर्न सकिनेछ । तर, कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचार(प्रसार गर्न पाइने छैन ।

भृकुटीमण्डपस्थित महाधिवेशनस्थल ओरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचार सामग्री राख्न पाइने छैन । जारी आचारसंहिता अनुसार मतदानस्थलभित्र प्रवेश गर्ने प्रतिनिधिहरूले मोबाइलसमेत लैजान पाउने छैनन् । कांग्रेसको निर्वाचन कार्यक्रम मंसिर २४ गते बिहान १० बजेदेखि सुरु हुनेछ । यस्तै मतदानको समय २७ गते बिहान ८ बजेदेखि तोकिएको छ ।