जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार १८:५५

कांग्रेस संस्थापन इतरले आज पनि सकेन साझा उम्मेदवार छान्न, शेखर र प्रकाशमानले छाडेनन् अडान


काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्ने संस्थापन इतरको प्रयासले आज पनि सफलता पाउन सकेन । आगामी मंसिर २४ गतेबाट राजधानीमा सुरु हुन लागेको महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्ने प्रयास संस्थापन इतर पक्षले केही दिन यता गरिरहेको भए पनि नेताहरुले आ आफ्नो अडान नछाड्दा पूरा हुन नसकेको हो ।

मंगलबार लगभग सहमति नजिक पुगेको र केही प्राविधिक कुरा मिलाउन बाँकी रहेको बताइएको भए पनि आज पनि बैठकमा कुरा मिल्न नसकेको हो । सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला आकांक्षी रहेका छन् । सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले हिजै बताएका थिए । तर नेताहरु सहमतिमा नआएपछि थप समस्या देखिएको छ ।

चार नेताहरुका बीचमा आज सहमति नभएकाले भोलि फेरि अरु नेताहरु बसेर छलफल गरेपछि निकास निकाल्ने कुरा भएको नेता गुरु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि विहान ८ बजे बानेश्वरमा बसेर सुझाव लिएर निकास निकाल्ने कुरा भएको छ । उहाँले भन्नुभयो,‘उहाँहरु बाहेकको छलफल गरेर विकल्पसहितको धारणा पेस गरेपछि मिल्ला ।’ उहाँका अनुसार वरिष्ठ नेता पौडेल सहमतिका लागि त्याग गर्न तयार भएपनि सिंह र शेखरबीच सहमति हुन नसकेको हो ।