काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षलाई आसन्न १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न हम्मेहम्मे परेको छ । यो समूहबाट सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला आकांक्षी हुनुहुन्छ । यद्यपि सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले यसअघि नै बताउनु भएको छ । तर, साझा उम्मेदवार छान्न चार दिनको प्रयासले सार्थकता पाउन सकेको छैन ।
नेता गुरु घिमिरेका अनुसार नेताहरुबीच आज बिहान बानेश्वरमा छलफल हुनेछ । यसअघि सभापतिका आकांक्षीहरुबीच छलफल हुँदै आएको थियो । तर आज सभापतिका आकांक्षीबाहेकका केन्द्रीय सदस्यबीच छलफल हुनेछ । ‘उम्मेदवार बन्ने विषयमा निर्णय गरेर सुझाव दिन्छौँ,’ उहाँले भन्नुभयो, ‘उहाँहरु बाहेकको छलफल गरेर विकल्पसहितको धारणा पेस गरेपछि मिल्ला ।’
उहाँका अनुसार वरिष्ठ नेता पौडेल सहमतिका लागि त्याग गर्न तयार भएपनि सिंह र शेखरबीच सहमति हुन नसकेको हो । १४औँ महाविधेशनका लागि कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।













प्रतिक्रिया दिनुहोस्