जनता टाइम्स

२३ मंसिर २०७८, बिहीबार १०:०५

भारतीय जेलमा ४१ वर्ष थुनिएका दुर्गाप्रसादलाई तत्काल ५ लाख भारु क्षतिपूर्ति दिन अदालतको आदेश


काठमाडौं, २३ मंसिर । कोलकाता उच्च अदालतले विना कसुर भारतीय जेलमा ४१ वर्ष थुनिएर गएको चैतमा रिहा भएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना दीपक जैसीलाई तत्काल भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षि भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख अर्थात आठ लाख नेपाली रुपैयाँ जम्मा गर्न पश्चिम बङ्गाल सरकारलाई आदेश दिएको हो ।आदेशअनुसार अबको ६ हप्ताभित्र दीपक जोशीको खातामा बङ्गाल सरकारले रकम जम्मा गर्नु पर्ने छ । सकेसम्म यो रकम दुर्गाप्रसादकै खातामा पठाइने कोलकातामा रहेको नेपाली महावाणिज्यदूत ईश्वर पौडेलले बताउनुभयो । दुर्गा प्रसादको खातामा पठाउन नसके आमा वा नजिकको आफन्तको खातामा पठाइने पनि उहाँले बताउनुभयो । यस्तै, उहाँले यो आदेशले थप क्षतिपूर्तिका लागि असर नपार्ने पनि बताउनु भएको छ ।

अनाहकमा जेलमा राखिएकै कारण मानसिक रोगी बनेका तिम्सिनाको औषधि उपचारमा समस्या पर्दै आएको थियो । अदालतको आदेशले परिवारलाई राहत महसुस भएको छ । दार्जिलिङकी एक महिलाको हत्या अभियोगमा विना कसुर जेल परेका तिम्सिनाले सुनुवाइ विना नै ४१ वर्ष भारतीय जेलमा बिताउनु भएको थियो । अभियोग नै पुष्टि नभइ जेलमा राखिएका दुर्गा प्रसादको मानसिक अवस्था  ठीक नभएको भन्दै गएको चैतमा जेलबाट रिहा गर्न कोलकाता उच्च अदालतले आदेश दिएको थियो ।