जनता टाइम्स

२५ मंसिर २०७८, शनिबार ०५:५६

पौडेल पक्षको उपस्थितिबिनै सकियो कांग्रेस महाधिवेशनको बन्द सत्र


काठमाडौं, २५ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको उपस्थितिबिनै बन्दसत्र समापन भएको छ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत राति पौने ९ बजेबाट बन्दसत्र सुरु भएको थियो ।

बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा तयार गरिएको प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गर्नुभएको प्रतिवेदन पास भएको छ । प्रतिवेदन पास भएसँगै सभापति शेरबहादुर देउवाले बन्दसत्र समापन गर्नुभएको छ ।

बन्दसत्र अवधिभर संस्थापन इतरका नेताहरुको कुर्सी भने खाली नै रहे । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि भन्दै वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा बसेपछि बन्दसत्रमा उहाँ पक्षका नेताहरुको उपस्थिति नभएको हो । नेता कृष्णप्रसाद सिटौला पक्ष पनि छलफलमा रहेपछि उनी बन्दसत्रमा उपस्थित भएनन् ।