जनता टाइम्स

२६ मंसिर २०७८, आईतवार १०:४३

कांग्रेस महाधिवेशन : अन्तिम नामावली आज १२ बजेपछि सार्वजनिक, भोलि बिहान ८ बजेदेखि मतदान


काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार (आज) ११ बजेसम्म उम्मेद्‌वारी फिर्ताको समय छ भने अन्तिम नामावली मध्यानह सवा १२ बजे सार्वजनिक गरिनेछ ।

‘अहिले ११ बजेसम्म उमेद्‌वारी फिर्ताको समय छ । उम्मेद्‌वारी फिर्ता गरेपछि कुन कुन पदमा सर्वसम्मत हुन्छ ? कुन कुनमा निर्वाचन हुन्छ ? हामीले सर्वसम्मत र निर्वाचन हुने पदहरूको अन्तिम नामावली आजै सवा १२ बजे प्रकाशन गर्नेछौँ’, घिमिरेले भन्नुभयो । उहाँका अनुसार केही कलष्टरहरूमा सर्वसम्मत हुने सम्भावना देखिएको छ । सर्वसम्मत नभएका पदमा भने सोमबार ९भोलि० बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।

कुन पदमा कति जनाको उमेद्वारी ?

निर्वाचन समितिका अनुसार सभापति एक पदका लागि शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला, युवराज न्यौपाने र कल्याण गुरुङको उमेद्‌वारी परेको छ । उपसभापतिमा विजयकुमार गच्छदार, पूणर्बहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले उमेद्वारी दर्ता गराउनु भएको छ । यस्तै, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल, गगन थापा, डा। प्रकाशशरण महत, प्रदीप पौडेल, डा। राजाराम कार्की र विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराउनु भएको छ ।

यसैगरी ८ सहमहामन्त्री पदका लागि २० जनाको उम्मेदवारी परेको छ । १२१ केन्द्रीय सदस्य पदका लागि ५०९ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

दलिततर्फ नौ पदका लागि ३९, महिलातर्फको खुला नौ पदका लागि ३१ जना, खस आर्य १३ जनाका लागि ९३ जना, मधेसी नौ जनाका लागि ३२ जना, आदिवासी जनजाति १५ पदका लागि ८७ जना, थारु चार जनाका लागि १४ जना, पिछडिएको क्षेत्रको एक पदमा दुई जना, मुस्लिम तीन जनाका लागि १६ जना, अल्पसंख्यक एक पदका लागि ६ जना र अपांग एक पदका लागि १६ जनाको उम्मेदवारी निर्वाचन समितिले जनाएको छ ।