जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार ११:४४

अन्ततः देउवातिरै लागे प्रकाशमान


काठमाडौं, मंसिर २८ । पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि सहयोग माग्दै आउनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंहको साथ पाउने हुनुभएको छ । देउवा र सिंहबीच केहीबेर अघि मात्रै चाक्सीबारीमा भएको भेटघाटमा देउवालाई समर्थन गर्ने सहमति भएको हो । भेटपछि सिंहले पत्रकारहरूसँगको कुराकानीमा देउवालाई आफ्नो समर्थन रहने बताउनु भयो ।

‘देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएकोले आफूले पनि देउवालाई समर्थन गर्ने निर्णय गरेको उबताउनु भयो । समर्थनबारे जानकारी दिँदै सिंहले भन्नुभयो, देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएको छ। उहाँले यस पटक मलाई हेल्प गर्नुस् भन्नुभएको छ । विधान संशोधनदेखि लिएर कमीकमजोरी सच्याइन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।’ महाधिवेशन प्रतिनिधिको मतलाई अगाडि बढाउने र पार्टीमा परिवर्तन गर्नुपर्ने कुरामा देउवा सहमत भएकाले आफूले समर्थन गरेको सिंहको भनाइ छ ।

यसअघि उम्मेदवारी घोषणा गर्दै सिंहले पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सहमतिको आलोचना गर्नुभएको थियो । शनिबार केन्द्रीय कार्यसमितिको सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले सत्तामा बसिरहने मनोविज्ञानबाट सभापति देउवाले माओवादीसँग सहमति गरेको आरोप लगाउनु भएको थियो । सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७६ मत बदर भएको थियो । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गर्नुभएको छ । देउवा ८२ मतले ५० प्रतिशत कटाउन असमर्थ बन्नुभएको हो । कोइरालाले १७०२, सिंहले ३७१ निधिले २५० र गुरुङले २२ मत प्राप्त गर्नुभएको छ ।