जनता टाइम्स

७ पुष २०७८, बुधबार ०९:४५

पानी भर्न पल्लोगाउँ जानुपर्ने बाध्यता हटेपछि घेर्मुबासीमा देखिएको त्यो उत्साह


लमजुङ, पुस ७ । वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका मर्स्याङ्दी गाउँपालिका ५ घेर्मु गाउँमा घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई निकै सहज भएको छ । दिनहुँ पानी भर्न गाउँदेखि टाढा पर्ने पल्लोगाउँ र खोल्सातिर धाउनुपर्ने बाध्यता रहेकोमा ‘एक घर एक धारा’को अवधारणा अनुरुप घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई सहज भएको हो ।

आरसिडिसी हरियो वन कार्यक्रममार्फत् घेर्मुफाँटका ११ घर र मर्स्याङ्दी गाउँपालिका ५का ३५ गरी ४६ घरमा धारा जडान गरिएको हो । घरैपिच्छे धारा जडान गरेपछि निकै सहज भएको घेर्मुफाँटकी धनकाशी गुरुङले बताउनु भयो । ‘पहिले पानीको धेरै दुःख थियो,’ उहाँले भन्नुभयो, ‘कहिले पल्लोगाउँमा त, कहिले खोलाकै पानी खानुपर्थ्यो ।’

अहिले धारामा पानी आउने भएकाले दैनिक कामकाज गर्न, वस्तुभाउलाई खुवाउन र करेसाबारीमा सागपातलाई हाल्न समेत सजिलो भएको छ । उहाँ मात्र होइन स्थानीय विष्णुमायाँ गुरुङले पनि वर्षौंदेखि गाउँमा पानीको समस्या भोग्दै आएकोमा अहिले सुविधा पाउँदा सिंगो गाउँबासी नै खुसी भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिले पानी लिन अर्को टोलमा जानुपर्थ्यो अहिले घरमै धारा छ । नाली र कुलोको समेत पानी पिउनुपर्ने बाध्यता थियो अहिले घरमै धारा रहेकाले पानीको समस्या टरेको छ ।’

आरसिडिसी हरियो वन कार्यक्रम मार्फत् खानेपानीको व्यवस्था गरिएको उहाँको भनाइ छ । गाउँदेखि परको चप्रेकुनाबाट पानी ल्याइएको समितिका अध्यक्ष धनप्रसाद गुरुङले बताउनु भयो ।