जनता टाइम्स

१६ असार २०७६, सोमबार ०२:३३

एनआरएन अस्ट्रेलिया निर्वाचन : पोखरेल र कँडेल समुहबीच कडा टक्कर


अस्ट्रेलिया, असार १६

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा निर्वाचन तिथी नजिकिएसँगै उम्मेद्वारहरुले आफ्नो अभियान तीब्र बनाएका छन । दुईवर्षे कार्यकालका जुलाई ६ मा हुने निर्वाचनमा एनआरएन अस्ट्रेलियाका आकांक्षीहरु प्यानल बनाएर मैदानमा उत्रिएका हुन । नेतृत्वका लागि हालसम्म सबै राज्यमा प्रजातान्त्रिक र समावेशी प्यानल बनाएर उम्मेदवारले मत माग्ने काम तीब बनाएका छन ।

कांग्रेस निकटको प्रजातान्त्रिक समूह सुरुमा आपसी खिचातानीका कारण दुई प्यानल बनाएर मैदानमा उत्रिए पनि अध्यक्षका एक प्रत्यासीले फिर्ता लिएका छन । वामपन्थी निकट समावेशी टिमले दिनेश पोखरेलको नेतृत्वमा अलग टिम बनाएको छ । प्रजातान्त्रिक समूहबाट हालका उपाध्यक्षद्वय केशव कँडेल र नन्द गुरुङ प्यानलसहित प्रतिस्पर्धामा उत्रिए पनि दवावपछि नन्द गुरुङले उम्मेदवारीफिर्ता लिनुभएको छ । कँडेलको समूहबाट महासचिव, सचिव, कोषाध्यक्ष र युवा संयोजकमा क्रमशः डा ज्ञानेन्द्र रेग्मी, प्रनेश घिमिरे, अनिल पोखरेल र इर्साद अहमद हुनुहुन्छ ।

समावेशी समूहबाट अध्यक्षमा दिनेश पोखरेलका साथै महासचिवमा सन्तोष दाहाल, सचिवमा उषाकिरण बारिया पोखरेल, कोषाध्यक्षमा कपिल पाण्डे र युवा संयोजकमा विनोद पौडेलले उम्मेद्वारी दिनुभएको छ । अस्ट्रेलियाका ६ राज्य तथा २ टेरिटोरीमा समेत प्रजातान्त्रिक र समावेशी समूहअन्तर्गत नै प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, अन्तर्राष्ट्रिय समन्वय समितिको ७ पदमा १४ जनाले उम्मेदवारी दिएका छन् । दक्षिण अस्ट्रेलियाबाट नवराज (नवीन) पन्त र रेणुका लामाले संयोजकका लागि प्रतिस्पर्धामा उत्रनुभएको छ । क्यापिटल टेरिटोरीबाट सञ्जय घिमिरे र चूडामणि सापकोटा, न्यु साउथ वेल्समा देव गुरुङ र डिला खरेल, भिक्टोरियामा महेन्द्र केसी र प्रेम कँडेल, पश्चिम अस्ट्रेलियाबाट कृष्णमान श्रेष्ठ र नवीन भण्डारी तथा क्वीन्सल्यान्डबाट धीरेन्द्रराज थापा र उमेश खडकाले नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसैगरी महिला संयोजकमा सन्ध्या शाह निर्विरोध हुनुभएको छ । नर्दन टेरिटोरी र तास्मानियाबाट क्रमशः हेम पुन र सन्देश परियार निर्विरोध हुनुभएको छ ।