प्रकाश पाक्साँवा/तेह्रथुम । नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता हुँदैन । खेती सुरु गर्दै गर्दा आफ्नो लगानी माटोमै खेर जान्छ वा राम्रो आम्दानी हुन्छ, त्यो कुनै भर छैन । तेह्रथुम लालीगुराँस नगरपालिका– ९ सोल्मा पुरुन्दिनका देवी पोखरेलले ७ वर्षअघि किबी खेती सुरुवात गर्दा यस्तै दोधारमा हुनुहुन्थ्यो । गरेका थिए । पोखरेलले टेलिभिजनमा किबी खेतीसम्बन्धी कार्यक्रम हेरेकै भरमा सुरुवात गर्नुभएको थियो । सुरुवाती दिनमा आम्दानी लिन सकिन्छ कि सकिन्न भन्ने भर नै थिएन । उहाँलाई आफूले सुरु गरेको खेतीबाट कसरी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता थियो । उहाँले ईलामबाट दुई सय किबीको नर्सरी ल्याएर खेतीयोग्य जमिनमा खेती सुरु गर्नुभएको थियो ।
पोखरेल बगानमा लगाएको बिरुवाको हेरचाहमा राति अबेरसम्म बिताउनु हुन्थ्यो । परम्परागत खेतीभन्दा नयाँ खेती सुरु गरेपछि नगदेबाली आम्दानी लिन सकिन्छ भन्नेमा उहाँ ढुक्क हुनुहुन्थ्यो । ती दिन समझदै पोखरेल भन्नुहुन्छ, ‘मैले खेती सुरु गर्दै गर्दा गाउँलेहरुले बौलायो भने । यति राम्रो अन्न फल्ने ठाउँमा के को सिन्का रोपेको ? मानसिकता नै गुमेछ पनि भने । हौंसला दिने बेला उल्टै हतोत्साहित बनाए । तर म निरन्तर रुपमा आफूले गरेको खेतीमा लागी रहेँ । जब आम्दानी दिन सुरु भयो अहिले मेरो खेती देखेर त्यसो भन्नेहरु सवै लोभिन्छन ।’
२०७१ सालमा खेती सुरु गर्नुभएका पोखरेलले बिक्रीबाट मात्रै वार्षिक ३ लाख बढी आम्दानी गर्दै आउनु भएको छ । घरनजिकै बगानमा उहाँ बिहान बेलुकी र फुर्सदको समयमा किबी हेरचाहमै समय बिताउने गर्नुभएको छ । थोरै क्षेत्रफलमा धेरै आम्दानी हुने खेती भएकाले उहाँ आफ्नो खेतीबाट दंग हुनुहुन्छ । ‘मैले खेती सुरुवात गरेको तीन वर्षदेखि उत्पादन सुरु भयो, चार बर्षमा बजारमा पुर्याएँ । अहिले बजार राम्रो छ, फोनमार्फत नै माग आउँछ । ग्राहकको मागअनुसार उत्पादन गर्न सकेको छैन । बगानलाई अझ विस्तार गर्दै जाने सोंचमा छु,’ पोखरेलले भन्नुभयो, ‘मैले अन्नबाली लगाउँदा बढीमा आठ÷दश हजारको उत्पादन हुन्थ्यो तर किबी खेतीबाट वार्षिक ३ लाखभन्दा बढी आम्दानी लिँदै आएको छु ।’

यो कामपछि उहाँ जिल्लाकै उत्कृष्ट किसानको रुपमा परिचित भइसक्नु भएको छ । उहाँले देबी किबी फर्म दर्ता गरी व्यावसायिक रुपमा उत्पादन गर्दै आउनु भएको छ । दुई हजार किलो वार्षिक किबी बगानबाट उत्पादन गर्दै आएका छन । व्यावसायिक रुपमा उत्पादनमा जुट्दै आउनु भएका पोखरेलले बर्षेनि कृषि ज्ञानकेन्द्र धनकुटामा कार्यक्रम प्रस्तावना लगाए पनि कुनै पनि सहयोग नपाएको गुनासो गर्नुभयो ।
पोखरेल किबी किसानमात्र नभई प्रशिक्षकको रुपमा स्थापित भइसक्नु भएको छ ।
यतिबेला गाउँ र विभिन्न जिल्लाबाट किबी खेतीसम्बन्धी सल्लाह र परामर्श लिन किसानहरु उहाँकहाँ आउने गरेका छन । खेतीसँगै नर्सरीसमेत उत्पादन गरी विक्री गर्न सुरु गरेका छन् । पोखरेलले रेड र ग्रीन जातका किबी खेती गर्दै आउनु भएको छ । उहाँका श्रीमती तिला पोख्रेल लालिगुराँस नगरपालिकाको उपप्रमुख हुनुहुन्छ । श्रीमानले सुरु गरेको खेतीमा तिलाले पनि साथ दिँदै आएकी छन । नागरिकहरुको सेवामै ब्यस्त बन्दै आउनु भएकी तिला फुर्सदको समय बगानमा श्रीमानलाई सघाउँदै आउनु भएको छ ।

पोखरेलले एक्लै सुरु गरेको किबी खेती यतिबेला गाउँका धेरैजसो किसानले गर्न थालेका छन । पोखरेलको बगानमा उत्पादन भएको किबी राजधानीलगायत पूर्वका विभिन्न जिल्लाहरुमा विक्री हुँदै आएको छ । यहाँ उत्पादन भएको किबी प्रतिकिलो एक सयदेखि तीन सय रुपैयाँका दरले बिक्री हुँदै आएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा पछिल्लो समय परम्परागत खेतीलाई मास्दै नगदे बालीतर्फ किसानहरु आकर्षित हुँदै आएका छन । पोखरेलको यो कामले गाउँको मुहार नै बदलिएको छ । (न्यूज कारखाना)













प्रतिक्रिया दिनुहोस्