जनता टाइम्स

११ पुष २०७८, आईतवार १४:४२

चाउचाउ उद्योगमा विस्फोट, ६ मजदुरको मृत्यु, मृतकको संख्या बढ्न सक्ने अनुमान


काठमाडौं, ११ पुस । भारतको बिहारस्थित एक चाउचाउ उद्योगमा विस्फोट हुँदा कम्तिमा ६ जना मजदुरको ज्यान गएको छ । आज बिहारको मुजफ्फरपुरस्थित एक चाउचाउ उद्योगमा बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट भएको अधिकारीहरूले बताएका छन् । विस्फोटमा परी कम्तिमा ६ जना मजदुरको मृत्यु भएको र दर्जन बढी घाइते भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

विस्फोट निकै ठूलो भएका कारण ५ किलोमिटरसम्म आवाज सुनिएको थियो । विस्फोटलगत्तै लागेको आगो नियन्त्रण गर्न ५ वटा दमकल परिचालन गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । विस्फोटका कारण नजिकैका संरचनामा समेत क्षति पुगेको छ । हाल चाउचाउ उद्योगमा उद्दार कार्य जारी रहेको छ । घटनाबारे पूर्ण विवरण आइनसकेका कारण मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।