जनता टाइम्स

१६ असार २०७६, सोमबार ११:४९

नेपाल एयरलाइन्सलाई प्रधानमन्त्रीको गतिलो जवाफ – व्यवस्थापनमा ध्यान नदिने खाली पैसामात्र माग्ने


काठमाडौं, असार १६

नेपाल एयरलाइन्समा कर्मचारी धेरै छन् । विमान पनि धेरै छन् तर उडान भरेका छैनन । तर, एयरलाइन्सले सरकारसँग किस्ताका लागि वर्षौदेखी रकम माग्दै आएको छ । यो पटक पनि वाइडबडीको किस्ता तिर्न नसकेर सरकारसँग माग गरिरहेको छ ।

यसै सन्र्दभमा सरकारले गतिलो जवाफ दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममै अहिलेकै अवस्थामा नेपाल एयरलाइन्सलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ पनि दिन नसकिने स्पष्ट पारिदिनुभयो । उहाले व्यवस्थापन सुधार नभएसम्म सरकारले एक रुपैयाँ पनि नदिने सार्वजनिक कार्यक्रममै प्रष्ट पार्नुभएको हो ।

‘जहाज छन् तर उडाउने पाइलट छैनन्। गन्तव्य छैन। कहाँ उडाउने टुंगो छैन। भद्रगोल व्यवस्थापन छ। यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्‍यो। आफैं सक्ने भए छिटो गर्न पर्‍यो’, उहाले अगाडी भन्नुभयो, ‘गर्नु पर्ने काम नगर्ने यति र उति अर्ब चाहियो भन्दैमा पैसा दिन सकिँदैन। यसका लागि सुव्यवस्थापनको ग्यारेन्टी चाहिन्छ।’ राष्ट्रिय ध्वजावाहक भएकाले सरकार काँध थाप्ने तर आँखा चिम्लेर पैसामात्र दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई सचेत समेत गराउनु भयो । नेपाल एयरलाइन्सको सफल सञ्चालनका लागि सरकारले जुनसुकै हस्तक्षेप गर्ने उहाको भनाइ छ।

‘६१ वर्षको अवधिमा उन्नति प्रगति कति भयो ? ३९ अर्ब ऋण छ। यो दान पून्यको मात्र क्षेत्र होइन। नाम सेवा निगम भए पनि व्यापार हो। निःशुल्क स्वास्थ्य शिविर राखेजस्तो होइन’, प्रधानमन्त्रीले भन्नुभयो, ‘आफैंले आम्दानी गर्नुपर्छ। ६ जहाज किन्छौं चलाउने मान्छे छैन। वाइड बडी किन्यौं गन्तव्य छैन। नेपाल वायुसेवा निगममात्र घाटामा छ। काम गर्ने, चढ्ने, चलाउने सबै नाफामा वायुसेवा निगममात्र किन घाटामा ?’

उहाले उडाउनुपर्ने गन्तव्य छोडेर गलत ठाउँमा उडान खोजिएको भन्दै एयरलाइन्स व्यवस्थापनलाई चेतावनी शैलीमा सचेत समेत गराउनु भयो । जापानको नारिता उडाउनु पर्नेमा त्यहाँ नगइ अन्य सहरमा गएको भन्दै उहाले प्रश्न समेत उठाउनु भयो ।