जनता टाइम्स

२१ पुष २०७८, बुधबार ०९:२४

उदांगियो कांग्रेस नेताको गैरकानूनी धन्दा, चिचिला अध्यक्ष शेर्पाले बनाए अमेरिका जान कीर्ते कागजात


संखुवासभा, पुस २१ । नेपाली कांग्रेसका नेता एवं चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले सरकारी कागजात कीर्ते गरेको खुलासा भएको छ । शेर्पाले सरकारी कागजात कीर्ते गरी अमेरिका जाने योजना बनाएको तथ्य बाहिर आएको हो ।

शेर्पाले आफ्ना छोरा थिलेन शेर्पा र आफू अमेरिका पुग्नका लागि कीर्ते कागजात तयार पारेको पाइएको हो । अलैँची व्यापारीमा समेत रहनुभएका शेर्पाले धेरै पटक अमेरिका जान प्रयास गरेको तर भीसा नलागेर असफल भएपछि गाउँ कार्यपालिकाका सबै सदस्यलाई समेत जानकारी गराएर सरकारी कागजात कीर्ते गर्नुभएको तथ्य खुलेको हो ।

गाउँपालिकाको खर्चमा संवैधानिक आयोगका पदाधिकारीसहितको टोली अमेरिका जान लागेको समाचार सार्वजनिक भएपछि यसको खोजी भएको थियो । दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल, गाउँपालिका अध्यक्ष शेर्पा, उपसचिव अञ्जु ढुंगाना, अध्यक्ष शेर्पाका छोरा थिलेन शेर्पा, नरेश रिजाल, नासु मेगेन्द्र न्यौपाने, सुजिना भट्ट र दीपेश रिजालसहित ९ जनाको टोली अमेरिका जाने समाचार सार्वजनिक भएपछि खोजी सुरु भएको थियो ।

त्यस क्रममा 6th Annual Smart Cities Technology Symposium & Exhibition 18–19 2020 in Chicago मा सहभागी जन जाने भन्दै कीर्ते कागजात तयार पारेको पाइएको हो ।