जनता टाइम्स

२१ पुष २०७८, बुधबार १२:४३

प्रधानमन्त्री रोजगारमा अनियमितताको आशंका, अख्तियार दुरुपयोगद्धारा बिल भपाई नियन्त्रण


उदयपुर, २१ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोलीले बेलका नगरपालिकामा संचालित प्रधानमन्त्री रोजगार कार्यक्रमको कागजपत्र नियन्त्रणका लिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बेलका नगरपालिकामा संचालित योजनाहरुमा अनियमितता भएको समाचार सार्वजनिक भएसँगै अख्तियारले छानविनका लागि कार्यक्रमसँग सम्बन्धि कागजात नियन्त्रणमा लिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम सुचिकृत भएका बेलका नगरपालिका वडा नम्बर ४ नम्बरमा मजदुरको नाममा किर्ते विल भपाई तथा भुक्तानी देखाएर अनियमितता गरेको समाचार सार्वजनिक भएपनि अख्तियारले चासो देखाएको हो ।

आर्थिक वर्ष ०७७/०७८ मा बेलका नगरपालिका–४ मा तीन वटा योजनाका निम्ति कुल १९ लाख ६४ हजार ६ सय रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये १३ लाख २० हजार ६ सय ५३ रुपैया भुक्तानी भएपनि किर्ते बिल भर्पाई बनाएर पेश गरिएको पिडितहरुले आरोप लगाएका छन् । डोर हाजिरी किर्ते बनाउनका साथै कुमारी बैकमा खाता खोली चेकमा समेत किर्ते हस्ताक्षर गरि रकम अनियमितता गरेको उनीहरुको भनाई छ ।

नगरपालिकाले तिमिहरुको नाममा पैसा लिएको रहेछ कुमारी बैंकमा खाता खोलेपछि पाईन्छ भन्दै नागरिकता लिएर गएको स्थानिय रचनाकुमारी नेपाली सार्कीले बताउनुभयो । ‘म बैंकमा खाता खोल्न पनि गएको छैन, चेकमा हस्ताक्षर पनि गरेको छैन’ उहाँले भन्नुभयो । तर, उहाँको नाममा प्रधानमन्त्री रोजगार कार्यक्रमको डोर हाजिरीमा ७१ दिन काम गरेवापत दैनिक ५१७ रुपैयाँका दरले ३६ हजार ७६८ रुपैयाँ भुक्तानी भएको देखिन्छ । उहाँलाई नगरपालिका आउँजाउ गरेको भनेर ५ सय रुपैया मात्र दिएको बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत वडा नम्बर–४ मा गर्भे सडक हुदैं दमही कल्र्भट निर्माण योजनामा १ लाख ३ हजार ८ सय ५० रुपैया, सुन्दरीनगरी डाँडाटोल हुँदै बबला–६ जोडने सडक निर्माण योजना ६ लाख ९८ हजार ६ सय ७४ रुपैया र ठोक्सिला कटारी खानेपानी योजना ४ लाख ४१ हजार २ सय २२ रुपैया गरि १३ लाख ६४ हजार ६ सय रुपैयाको तीन वटा योजनाका ३८ जना मजदुरको नाममा किर्ते डोर हाजिर देखि बिल भर्पाई समेत किर्ते बनाएको आशंका गरिएको छ ।

ठोक्सिला कटारी खानेपानी योजनाका अध्यक्ष सन्तोष आचार्य, सुन्दरनगरी डाँडाटोल हुँदै बबला–६ जोड्ने सडक योजना उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद लुईटेल लगायत नगरपालिकाको कर्मचारीको मिलेमतोमा सर्वसाधारणको नाममा रकम निकासा गरि उनीहरुको बैक चेकमा किर्ते हस्ताक्षरण गरि कुमारी बैंकबाट पैसा निकालेको पिडित रचनाकुमारी नेपालीले बताउनुभयो । आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकामा सञ्चालन गरिएको सो कार्यक्रममा वडा कार्यालयले ३८ जनालाई काममा लगाएको स्थानीय जीतबहादुर मगरले जानकारी दिनुभयो ।

काममा लगाइएका सबै मजदुरको कुमारी बैंक रामपुर शाखामा रकम जम्मा गरेको नगरपालिकाका रोजगार संयोजक विमला थापाले जानकारी दिनुभयो । सो वडाका मजदुरका लागि १९ लाख ६४ हजार ६ सय रकम विनियोजन भएता पनि १३ लाख २० हजार ६ सय ५३ रुपैया खर्च भएको संयोजक थापाले जानकारी दिनुभयो । बेलका नगरपालिका– ४ ठोक्सिला कटारी खानेपानी योजना निर्माणको लागि १२ जनाले रोजगार पाएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।

नगरपालिकामा पेश गरिएको डोर हाजिरमा उल्लेखित मजदुरहरुले भने प्रधानमन्त्री रोजगार कार्यक्रमको काम आफुहरुले एक दिन पनि नगरेको बताएका छन । रोजगार कार्यक्रममा नाम निस्केका सबै मजदुरको बैंक खाता खोलाइएको छ । पैसा बैंकमा नै पठाएको देखिन्छ तर, रकम निस्किएको कुनै पनि मजदुरले आफुले काम नगरेको बताउनुभएको छ । किर्ते डोर हाजिरी बनाएर बैंकमा पैसा जम्मा गरेपछि मजदुरको खाता खोलि चेक नै लिएर किर्ते हस्ताक्षरण गरि रकम निकालेको पिडित बिष्णु नेपाली सार्कीले बताउनुभयो ।

त्यसैगरी अर्का मजदुर नन्दीकुमारी मगरले भन्नुभयो,‘तिम्रो नाममा नगरपालिकाबाट पैसा आएको छ, कुमारी बैंकमा खाता खोल्न भनेर समितिका अध्यक्ष कृष्णप्रसाद लुईटेलले फोटो र नागरिकता लिएर गएको र कागजमा सहि गरेको हो । पछि तपाईले काम गरेको छैनन । खाता खोले बापत ३ हजार दिनु भनेको छ तर तपाई ५ हजार रुपैया दिन्छु भन्नुभएको छ ।’ तर, उहाँको नाममा ८६ दिन काम गरेको ५ सय १७ रुपैयाका दरले १ प्रतिशत कर कठ्ठी गरि ४४ हजार १७ रुपैया भुक्तानी भएको देखिन्छ ।

नगरपालिकाको भुक्तानी आदेशमा भने नन्दीकुमारीसहित १६ जनाले सुन्दरनगरी डाँडाटोल हुँदै बबला ६ जोड्ने सडक निर्माण योजनामा ८६ दिन काम गरेको देखिन्छ र कर कट्टी गरेर उहाँको खातामा ४४ हजार १७ रुपैया जम्मा भएको देखिन्छ । सोही सडक निर्माण योजनामा सिताराम बिष्टले ४ हजार मात्रै पाउनुभएको छ भने एक दिन पनि काम नगरेका कृष्णबहादुर गिरीले २९ हजार पाउनुभएको छ । त्यसैगरी गभ्रे सडक हुँदै दमहि कल्भर्ट निर्माण योजनाको लागि गंगा मंग्रातीको नाम परेता पनि उहाँले कामै गर्नुभएको छैन ।

रोजगार वापत उहाँलाई समितिले एक हजार रुपैया बुझाउन घरै आएता पनि रकम बुझ्नुभयो । तर, बैंक खाताबाट उहाँको १० हजार २३७ रुपैया झिकिएको छ । उहाँले बैंकमा खाता खोलेता पनि समितिका पदाधिकारीले नै चेक बुक राखेर रकम झिकेको बताउनुभयो । सोही योजनाका मजदुर इन्द्रबहादुर बस्नेतले एक हजार दिएर चेकमा हस्ताक्षर गराएको बताउनुभयो । उहाँले २० दिन काम गरेर १० हजार २३७ रुपैया लिएको नगरपालिकाको लेखा शाखाको तथ्यांकमा उल्लेख छ । बस्नेतले भन्नुभयो, ‘त्यस बेला मेरो हात भाँचिएको थियो । चेकमा हस्ताक्षर गरायो र एक हजार दियो ।’

यस्तै नन्दलाल आचार्य र मनोज आचार्यले जनही ३६ हजार ७६८ रुपैया पाउनु पर्नेमा उहाँहरुले नौ हजार पाँच सयको दरले बुझन्ुभएको छ । बालकुमार मगर, नारायण कटुवाल, अमृता विक, गोमा खड्का, मोहनप्रसाद आचार्य, नगेन्द्र थापा, थिरबहादुर माझी, मने सार्की, सिताराम बिष्ट, छत्रबहादुर आले मगर, कल्पना सार्की, दलबहादुर सापकोटा, मनोज नेपाली, एकबहादुर निरौला, निरज पुर्कोटी, इन्द्रकुमारी तामाङ, कल्पनाकुमारी सार्की, अम्बु तामाङलगायतको बैक खाताबाट किर्ते हस्ताक्षर गरी बैकबाट पैसा निकालेको देखिन्छ ।

बैंक खाता खोलेवापत उहाँहरुलाई एक देखि पाँच हजार रुपैयासम्म दिएको पिडितहरुले बताउनुभएको छ । वडामा प्रधानमन्त्री रोजगार कार्यक्रममा किर्ते डोर हाजिर बनाएर किर्ते कागजात बनाएर पैसा निकालेको पिडितहरुले बताएपछि आफुले अनुगमनको कागजातमा सहि नगरेको वडा सदस्य टंकप्रसाद अधिकारीले बताउनुभयो । नगरपालिका कर्मचारीलगायत समितिका सदस्यहरुले अनुगमन गरेको फाइल प्रमाणित गर्न दबाब दिएको छ ।

बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले भने गलत काम गरेको प्रमाणित भए कर्मचारी, जनप्रतिनिधि वा समिति जो सुकै भएपनि सजायको भागिदार हुने बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगारहरुलाई अनिवार्य रुपमा १ सय दिन रोजगारी दिनु पर्ने ब्यवस्था रहेको छ । नगरपालिकाले बेरोजगारहरुलाई छनोट गरि वर्षमा १ सय दिन वडाध्यक्षको प्रत्येक्ष निगरानीमा सिधै रोजगारी दिने व्यवस्था भएता पनि यहाँ भने उपभोक्ता समिति गठन गरेको पाईएको छ ।