जनता टाइम्स

२१ पुष २०७८, बुधबार १६:३२

कोरोनाको असर : हजार बढी मुद्दा फछ्र्यौट हुन बाँकी


तनहुँ, २१ पुस ।जिल्ला अदालत तनहुँमा एक हजार ७७ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञा कारण लामो समयसम्म बिदा हुँदा सो मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम कम भएपछि मुद्दा फछ्यौटमा तिव्रता आएको छ ।

गत वर्षको जिम्मेवारी सरेर आएका ९५९ र नयाँ दर्ता भएका ६१७ गरी कूल एक हजार ५७६ मुद्दामध्ये ४९९ फछ्यौट भएको जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ६ महिनाभित्रका ४१२, छ महिनादेखि बाह्र महिनाभित्रका २८७, बाह्र महिनादेखि अठार महिनाभित्रका १४४, दुई वर्ष नाघेका १३० र अठार महिनादेखि दुई वर्ष नाघेका १०४ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ ।

यसैगरी, ६ महिनाभित्रका २७१, छ महिनादेखि बाह्र महिनाभित्रका १०२, बाह्र महिनादेखि अठार महिनाभित्रका ३२, अठार महिनादेखि दुई वर्षभित्रका ४७ र दुई वर्ष नाघेका ४७ गरी ४९९ मुद्दा फछ्र्यौट भएको सो अदालतले जनाएको छ ।

पछिल्लो समयमा सम्बन्ध विच्छेदका मुद्दासमेत बढ्दै गएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । रोजगारीको सिलसिलामा विदेशमा रहेका श्रीमान् स्वदेशमा आएपछि श्रीमान् श्रीमतीबीच सम्बन्धविच्छेद हुने गरेको उहाँको भनाइ छ । त्यसैगरी, जिल्लामा जबरर्जस्ती करणीका मुद्दा पनि अत्यधिक मात्रामा दर्ता हुने गरेको उहाँले बताउनुभयो ।