जनता टाइम्स

१६ असार २०७६, सोमबार २१:०५

प्रधानमन्त्री ओलीको अठोट : जनताको भरोसा टुट्न नदिई ऐतिहासिक जिम्मेवारी पूरा गरेरै छाडिन्छ


काठमाडौं, असार १६

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका सकारात्मक काम कारवाहीलाई जनताका माझमा लैजान सांसदहरुलाई निर्देशन दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई आज सङ्घीय संसद् भवन नयाँबानेश्वरमा सम्बोधन गर्दै उहाँले सरकार जनअपेक्षाअनुसार नै अगाडि बढिरहेको भए पनि जनताका बीचमा पुग्न नसकेको भन्दै प्रभावकारी रुपमा प्रचार गर्न निर्देशन दिनुभएको हो ।

नेकपा संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकारका काम कारवाही, आगामी आर्थिक वर्षको बजेट, सरकारले सदनमा प्रस्तुत गरेको विभिन्न विधेयकका सम्बन्धमा सांसदहरुलाई जानकारी गराउनुभएको थियो ।

इतिहासले वर्तमान सरकार र नेकपालाई ऐतिहासिक र महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्रीले उक्त जिम्मेवारी पूरा गरेरै छाडिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले सांसदहरुलाई स्पष्ट दृष्टिकोणका साथ सदनमा प्रस्तुत हुन आग्रह गर्दैै विगतमा केही कमीकमजोरी भएका भए त्यसलाई आगामी दिनमा सुधार गरेर जाने विश्वास दिलाउनुभयो ।

सरकार आफ्नो गतिमा स्पष्ट रहेको र थोरै समयमा गर्नुपर्ने जति काम अगाडि बढाइएको जानकारी दिँदै विरोधका लागि विरोध गर्ने प्रवृत्तिले गलत मात्रै देख्ने भएकाले त्यसप्रति सचेत हुन उहाँले आग्रह गर्नुभयो । विकास निर्माणको कामसमेत प्रभावकारी रुपमा अगाडि बढेको भन्दै प्रधानमन्त्रीले भौतिक पूर्वाधार, सडक निर्माणमा उल्लेख्य प्रगति भएको भन्दै आगामी वर्ष झन् नयाँ नयाँ उपलब्धि देखिने बताउनुभयो ।

उहाँले सरकारले आवश्यकताका आधारमा केही विधेयक प्रस्तुत गरेकाले विषयवस्तुमा रहेर छलफल गर्न र सच्याउने ठाउँ भएको अवस्थामा त्यसलाई सच्याइने भएकाले सोही अनुसार प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराउनुभयो । संसदीय दल, सांसद र शीर्ष नेतृत्वबीच अन्तरक्रिया गर्ने तथा पछिल्ला दिनमा सरकार, संसद्मा र संसद्बाहिर उठेका विषयवस्तुमा प्रस्ट पार्ने ध्येयका साथ आज प्रतिनिधि र राष्ट्रियसभामा रहेका नेकपाका सांसदहरुसँग अन्तरक्रियात्मक छलफलको आयोजना गरिएको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी एकताको बाँकी काम यसै महीनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको समेत जानकारी दिनुभयो । प्रधानमन्त्रीले जनताको भरोसा टुट्न नदिन पार्टी एकताबद्ध हुनुको विकल्प नभएको स्पष्ट पार्नुभयो । ‘हामीप्रति जनताको ठूलो भरोसा छ । त्यसलाई टुट्न दिनु हुदैन, त्यसका लागि हामी सबैले जो जहाँ छौँ त्यसै अनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

बैठकपछि प्रमुख सचेतक देव गुरुङले दृढताका साथ काम गर्न निर्देशन आएको बताउनु भयो । गुरुङले भन्नुभयो, ‘सरकारको काम कारवाही, पार्टी एकताका बाँकी काम र विचाराधीन विभिन्न विधेयक एवम् शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा आजको बैठकमा महत्वपूर्ण छलफल भयो ।’