उदयपुर, २२ पुस । उदयपुरको कटारी नगरपालिका–५ भुल्केका चुडामणि हमाल वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक कालिज पालनमा लाग्नुभएको छ । तीन वर्ष मलेसियामा बसेर फर्किएपछि कालिज फर्म सञ्चालन गर्नुभएको हो । कटारी नगरपालिका–५ भुल्केमा स्थानीय गोपाल कार्कीको दुई बिघा जग्गा भाडा लिएर आनन्दराज कालिज तथा कृषि फर्म दर्ता गरी हमालले व्यावसायिक कालिज फर्म सञ्चालनमा ल्याउनुभएको हो । २०७८ वैशाखबाट आनन्दराज कालिज तथा कृषि फर्म दर्ता गरी सञ्चालनमा आएको हो ।
२०७२ सालमा मलेसियामा वैदेशिक रोजगारमा गएका हमालले त्यहाँ तीन वर्ष बिताएर फर्किनुभएको हो । उहाँले मलेसियामा दैनिक १४ घन्टा काममा खटिनुपर्ने काम गरेअनुसार पैसा नदिने बताउनुभयो । दैनिक १४ घन्टासम्म उभिएर काम गर्दा स्वास्थ्यमा समस्या आउने उहाँको भनाइ थियो । नौ महिनाअघि कालिज पालनमा लागेका उहाँले अहिले फर्ममा कालिज पालनदेखि ह्याचरीमार्फत बच्चा उत्पादन, कालिजकै परिकार पाइने कालिज रेष्टुरेन्ट सञ्चालन गर्ने तयारीमा जुट्नुभएको छ ।
रेष्टुरेन्टका लागि मदन भण्डारी लोकमार्गमा पर्ने भुल्केमा तयारी भइरहेको उहाँले बताउनुभयो । ‘कालिज फर्मदेखि बच्चा उत्पादनको गर्ने तयारीमा छौं । अब कालिजको मात्र विभिन्न परिवार पाइने गरी रेष्टुरेन्ट खोल्ने तयारी भइरहेको छ’, उहाँले भन्नुभयो,‘यता व्यवसायलाई सपोर्टसँगै कालिजको मासु खाने इच्छुकलाई सहजसमेत हुनेछ ।’ उहाँले अन्य व्यवसायभन्दा केही फरक व्यवसाय गरौं भन्ने सोच र सानैदेखि कालिजप्रतिको आकर्षणले गर्दा आफूले कटारी नगरपालिका–५ भुल्केमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक कालिज पालनमा लागेको बताउनुभयो ।
उहाँले वार्षिक ४० हजार बढी भाडा तिर्ने गर्नुभएको छ । फर्ममा कालिजसँगै, लोकल कुखुरा, बाख्रापालन र तरकारी उत्पादनको काम गर्दै आउनुभएको छ । ‘वैदेशिक रोजगारीमा जानुभन्दा नेपालमै केही गर्नुपर्छ भनेर योजना बनाउँदै जाँदा कालिज पालनमा लागेको हुँ’, उहाँले थप्नुभयो,‘अहिले कालिज पालनसँगै बच्चा उत्पादनका लागि ह्याचरी सञ्चालनको तयारीमा छौं । राम्रो भइरहेको छ, सन्तुष्ट छु ।’ फर्ममा उत्पादन भएका कालिज कटारीलगायत जिल्ला बाहिर काठमाडौंसम्म पठाउने गरेका छन् । फर्ममा दुईजनालाई रोजगारीसमेत दिनुभएको छ ।
त्यसैगरी कालिजका लागि बर्सिम, जै, नेपियरलगायतको घाँस खेतीसमेत गर्ने सोचमा रहेको उहाँले बताउनुभयो । ‘कालिजले दानासँगै घाँस पनि खाने गर्दछ । त्यसका लागि घाँस खेती पनि गर्नु पर्दछ, उहाँले भन्नुभयो, ‘कालिज पंक्षी भए पनि घाँस खाने गर्दछ ।’ उहाँले १५ लाखको लगानीमा तीन सय ७५ कालिजको बच्चा पालेर व्यवसाय सुरु गरेको व्यवसाय अहिले फस्टाउँदै मात्र गएको छैन, काजिलसम्बन्धी अन्य व्यवसायसमेत थप्दै जानुभएको छ । व्यवसाय सुरु गरेको एक वर्ष नबित्दै उहाँ आफ्नो व्यवसायबाट निकै सन्तुष्ट र खुसी हुनुहुन्छ । उहाँले जिउँदो कालिज प्रति गोटा तीन हजार रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्