जनता टाइम्स

१७ असार २०७६, मंगलवार ०७:४१

मैले बनाएको डकुमेन्ट अध्यक्ष केपी ओलीले हेर्दै नहेरी हस्ताक्षर गर्नुभयो : प्रचण्ड


काठमाडौं, असार १७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बिश्वासका आधारमा पार्टी एकता भएको भन्दै दुई अध्यक्षबीचको एकतामा दरार पैदा गर्ने काम नगर्न सवै नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । संसदीय दलको बैठकमा सांसदहरुले बजेटको बिषयलाई लिएर मन्त्री बिरुद्ध खनिनुका साथै एकताको बिषयमा नेतृत्वकैकडा आलोचना गरेपछि अध्यक्ष प्रचण्डले सो निर्देशन दिनुभएको हो ।

हामीले विश्वासले पार्टी एकता गर्न खोजेका थियौँ । मैले बनाएको डकुमेन्ट अध्यक्ष केपी ओलीले नहेरी हस्ताक्षर गर्नुभएको थियो । एकता गर्दा त्यो विश्वास थियो । अहिले फरक–फरक नेताको फरक भनाइ आएको छ । आशंका उत्पन्न भएको छ । पार्टी एकता अप्ठ्यारोमा पर्ने हो कि भन्ने छ, त्यसो हुन्न दिन्नौँ, अध्यक्ष प्रचण्डले भन्नुभयो, तीन महिनामै टुंगो लगाउने कुरा थियो, अब १५ दिनमा टुंगो लगाउँछौँ । तपाईंहरू चिन्तित हुनुपर्ने स्थिति छैन ।

यसअघि बैठकमा बजेट विनियोजनको विषयलाई लिएर सत्तारूढ नेकपा संसदीय दलको बैठकमा मन्त्री र सांसदबीच चर्काचर्की परेको थियो । नयाँ बानेश्वरमा सोमबार बसेको दलको बैठकमा बजेट विनियोजन गर्दा मन्त्रीहरू आफ्नो निर्वाचन केन्द्रमा मात्र केन्द्रित भएको भन्दै सांसदहरूले सरकारको आलोचना गरे । भीम रावल, लालबहादुर थापालगायतले बजेट विनियोजन विभेदकारी रहेको, गुटगत मानसिकताले हेरिएको भन्दै सरकारको आलोचना गर्नुभएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले देशको मन्त्रीभन्दा पनि निर्वाचन क्षेत्रको मन्त्री भएर बजेट विनियोजन गरेको सांसद थापाले भनाइ राखेपछि केहीबेर चर्काचर्की परेको हो ।

‘मन्त्रीको गृहजिल्ला धनुषामा यो वर्ष राष्ट्रिय गौरवको योजनाको नाममा रणनीतिक सडक भनेर १७ र क्रमागत तथा नयाँ सडक भनेर ७९ वटा राखिएको छ । बाजुरामा यो वर्ष एउटा पनि नयाँ सडकको योजना राखिएको छैन, प्रधानमन्त्रीको एक खालको स्पिरिट छ । मन्त्रीको कार्यशैली प्रधानमन्त्रीको स्पिरिटमा ठेस पुर्याउने खालको छ,’ सांसद थापाले भन्नुभयो । जवाफमा मन्त्री रघुवीर महासेठले सांसद रावलले ढाँटेको, गलत बोलेको तथा आफकहाँ पटक–पटक धाउने गरेको बताएपछि सांसद थापा जुरुक्क उठनुभयो ।

०७५ वैशाखमा भेट्न जाँदा म देशको मन्त्री हुँ, काम गर्छु सम्झाउनुपर्दैन गइहाल्नुस् भन्नुभयो । असारमा मन्त्रीक्वार्टरमा भेट्न जाँदा पटक–पटक आइराख्ने, कसको समय लिएर आउनुभयो भन्दै फेरि जानुस् भन्नुभयो । भदौमा बाढीले बाजुरा पनि प्रभावित भयो । सडक भत्कियो, बाटो, पुल अवरुद्ध भयो र कुरा राख्न जाँदा तपाईं झुट बोल्ने, पटक–पटक किन आउनुभएको जस्ता कुरा गर्नुभयो । केपी ओलीलाई उजुरी हाल भन्नुभयो । मैले प्रधानमन्त्रीलगायतलाई उहाँको व्यवहारबारे बताएँ । त्यसैको प्रतिशोधस्वरूप यो वर्ष पनि बाजुराका लागि नयाँ सडकको एउटा पनि योजना परेको छैन, सांसद थापाले भन्नुभयो ।

दलको बैठकमा सांसदहरूले बजेट विनियोजन, सरकारले ल्याएका गुठीलगायतका केही विवादास्पद विधेयक, पार्टी एकीकरण तथा सरकार सञ्चालनबारे प्रधानमन्त्री केपी ओली तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जिज्ञासा राखेका छन् । उनीहरूले आफ्नो कुरा सरकारले नसुनेको गुनासो गरे । सरकारले गरेका कतिपय नियुक्ति, निर्णयलगायतको बाहिर सडकमा आफूहरूले जवाफ दिनुपरेको, तर सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री तथा मन्त्रीसँग अन्तरक्रियात्मक कार्यक्रम हुन नसकेको उनीहरूको भनाइ थियो । सरकारले राम्रो काम गरे पनि सकारात्मक सन्देश नगएको भन्दै सांसदहरूले धारणा राखेको प्रमुख सचेतक देव गुरुङले बताउनु भयो ।

‘पार्टी एकता अझै टुंगो लागिनसकेको विषय, सरकारका काम–कारबाही, विधेयकलगायत विषयमा सांसदहरूले जिज्ञासा राख्नुभयो,’ प्रमुख सचेतक गुरुङले भन्नुभयो । बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डसहित ३४ सांसदले आफ्ना कुरा राख्नुभएको थियो ।