दोलखा, पुस २२ । नेकपा एमालेले पुस २३ गते शुक्रवार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमवाट एकैसाथ उदघाटन गर्नुहुने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनसहितको जिल्ला अधिवेशन भएका कारण एमालेका नेता कार्यकर्तामा यतिखेर चुनावी सरगर्मी निकै बढेको छ ।
दोलखा एमालेमा पनि अधिवेशनबाट नेतृत्व लिन नेताहरुले लबिङ तीब्र पारेका छन । नेताहरुले सर्वसम्मत नेतृत्व चयनको गृहकार्य अघि बढाइरहँदा जिल्ला अध्यक्षका लागि अहिलेसम्म चार जना नेताहरुले आकांक्षा राखेका छन । बर्तमान कार्यसमितिका उपाध्यक्ष एवं मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ, सचिव एवं शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल, उपसचिव एवं जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डे र सचिवालय सदस्य तथा भीमेश्वर नगरपालिकाका अध्यक्ष भरत केसीले अध्यक्षमा दावी गर्नुभएको छ ।
बर्तमान जिल्ला अध्यक्ष इश्वरचन्द्र पोखरेलले जिल्ला अधिवेशनपछि पार्टी नेतृत्व छाड्ने घोषणा गरेपछि चार नेताहरु आकांक्षी देखिनुभएको हो । दिनप्रति दिन बढ्दै गएको छ । अध्यक्षमा दावी गरेका चारै जना नेताहरुले आफ्नो दावी स्वभाविक भएको तर्क राखेका छन । पार्टीमा गरेको लगानी, अनुभव र क्षमताका आधारमा अध्यक्ष पदमा दावी प्रस्तुत गर्नु स्वभाविक भएको उहाँहरुको भनाई छ ।
यसैगरी उपाध्यक्षमा पत्रकारसमेत रहेका राजेन्द्र मानन्धरले दावी गर्नुभएको छ । यस्तै हरिबंश चौलागाई र जीवश खडकाले पनि दावी गर्नुभएको छ । यस्तै होम पाठक र हिरा थोकर सचिव, उपसचिवमा कमला बस्नेत, धर्मेन्द्र मोक्तान, सुन्दर कार्की, बिनकुमार थामी, माधवलाल कायस्थ, इश्वर न्यौपाने, केशव चौलागाईं, रेशम रिमाल, कृष्ण बस्नेतले दावी गर्नुभएको छ ।
जिल्ला अधिवेशनको मिति नजिकिदै जाँदा पदाधिकारीका आकांक्षी पनि बढेपछि आकांक्षीबीच सहमति जुटाउन केन्द्रीय सदस्य एवँ पूर्वमन्त्री पार्वत गुरुङले पहलकदमी लिनुभएको छ । उहाँले सहमतिका लागि अध्यक्षका दावेदारवीचको छलफललाई तिव्रता दिनुभएको हो । दोलखामा अध्यक्षका दावेदार चारै जना नेता गुरुङ निकट नै भएका कारण पनि उहाँले सहमतिका लागि पहलकदमी लिनुभएको हो । एमाले केन्द्रीय सदस्य एवं पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलले पनि सहमतिमै जोड दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्