जनता टाइम्स

२३ पुष २०७८, शुक्रबार १८:४०

लुम्बिनी जसपाका चर्चित नेतासहित एक हजार बढी नेता-कार्यकर्ता एमाले प्रवेश


बुटवल, पुस २३ । जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेश समिति सदस्य मञ्जित यादव (सोनु) नेकपा कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ ।

शुक्रबार एमालेको नवौं जिल्ला अधिवेशनमा यादव जसपा परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो । उहालाई एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, स्थायी समिति सदस्य घनश्याम भुसाल, रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी लगायतले पार्टीमा स्वागत गर्नुभएको हो । यादव गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार भई दोस्रो स्थान हासिल गर्नुभएको थियो ।

त्यस्तै ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मसहुर आलम खान पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीका लुम्बिनी प्रदेश सदस्य गुणाखर भुसालले जानकारी दिनुभयो ।