जनता टाइम्स

१७ असार २०७६, मंगलवार ११:३५

यसरी बिफल भयो ओली–प्रचण्ड भिडाउने नेकपाभित्रकै प्रतिक्रियावादी षडयन्त्र


दुवै अध्यक्षले आफ्नै सहयोगहीहरुबाट दुरी बढाउने काम भएको जानकारी पहिला नै पाइसक्नु भएको थियो, त्यसैले पार्टी एकताको बार्ता जसरी नै कसैलाई जानकारी नदिई सहमति गरेपछि निकट भन्नेहरुले कुनै जानकारी पाएनन

काठमाडौं, असार १७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डलाई भिडाउने सवै षडयन्त्र बिफल भएको छ । आफूलाई ओली निकट भन्दै सत्ताको स्वाद लिइरहेका र प्रचण्ड निकट भन्दै सधैभरी अवसर लिँदै आएको बिचौलिया समुहको षडयन्त्रबारे दुवै अध्यक्षले जानकारी पाएपछि दुवैले मिलेर बिफल पारिदिनुभएको हो ।

स्रोतका अनुसार दुई अध्यक्ष भिडाउन ओली निकट पूर्वएमालेका केही नेता र तथा प्रचण्ड निकट पूर्वमाओवादीका केही नेताहरु लागेका थिए । दुवै समुहले एक अर्काबिरुद्ध भडकाउने र नभएको पोल लगाउने कामसमेत भएको थियो । ‘अव त वारपारको अवस्था आयो, हामी आफ्नो मिलाउन लागेका छौं भन्दै दुवैतिर अध्यक्षद्वय ओली र प्रचण्डबीच निकै तिक्ततापुर्ण सम्बन्ध रहेको प्रचारसमेत सोही समुहले गराएको थियो ।

यतिसम्म कि जननेता मदन भण्डारीको जन्मजयन्ती अर्थात असार १४ गते दुवै अध्यक्षले समान धारणा दिनु भन्दा केही घण्टा अगाडिसम्म पनि बालुवाटार र खुमलटारको नाममा रजाई गर्दै आएको समुहले अव कुरा बिग्रियो, थप कुराकानी हुन्न भन्दै समाचार प्रकाशन गराइएको थियो । तर दुवै अध्यक्षले सो दिन समान अभिब्यक्ति दिएपछि सो समुह चकित परेको थियो ।

‘दुवै अध्यक्षले आफ्नै सहयोगहीहरुबाट दुरी बढाउने काम भएको जानकारी पहिला नै पाइसक्नु भएको थियो, त्यसैले पार्टी एकताको बार्ता जसरी नै कसैलाई जानकारी नदिई सहमति गरेपछि निकट भन्नेहरुले कुनै जानकारी पाएनन,’ पार्टी एकतामा भुमिका निर्वाह गरेकाएक सहयोगीले जनताटाइम्ससँग भने । उनका अनुसार ओली निकट र प्रचण्ड निकट भन्नेहरु अहिले दुई अध्यक्षबीच फाटो ल्याएर आफ्नो ब्रम्हलुट मच्चाउन चाहिरहेको छ ।

तर दुवै अध्यक्षले राजनीतिक प्रतिवेदनदेखि सरकार सञ्चालन र पार्टी एकताका बाँकी काम टुंगो लगाउन बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत साथ लिएर अघि बढेपछि ती सवै योजना बिफल भएको छ । यसैको सन्देश दुवै अध्यक्षले सोमवारको संसदीय दल बैठकमा दिनुभएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रचण्ड र आफूबीच दुरी बढाउन संभव नहुने भन्दै पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको रहस्य खोल्नुभयो ।

पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरूले प्रश्न उठाएपछि अध्यक्ष ओलीले सो रहस्य खोल्नुभएको हो । ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ, उहाँ (प्रचण्ड) ले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ । त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ,’ प्रचण्डप्रति आफ्नो बिश्वास रहेको प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो । २०७५ जेठ २ मा भएको सहमतिपत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ ।

पार्टी एकताको अघिल्लो दिन नेताहरू विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर ओली र प्रचण्डले ५ बुँदे सहमति गर्नुभएको थियो । बैठकमा अर्का अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्री ओलीले सहमतिपत्र लेखेर ल्याउन आग्रह गरेअनुसार आफूले लेखेर लगेको र प्रधानमन्त्रीले हेर्दै नहेरी हस्ताक्षर गरेको भन्दै आफूहरुलाई भिडाउने सपना नदेख्न सचेत गराउनु भयो । दुवै अध्यक्षको त्यो संकेत आफू निकटतिरै थियो ।

‘एकताका क्रममा केही सहमति गर्ने कुरा भयो, उहाँ (ओली) ले तपाईं लेखेर ल्याउनोस भन्नुभयो, मैले लेखेर लगें, त्यसमा उहाँले हेर्दै नहेरी हस्ताक्षर गर्नुभयो,’ बैठकमा अध्यक्ष प्रचण्डको भनाई थियो । बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो अभिब्यक्ति एकतालाई नै गलत अर्थ लाग्ने गरी आएको भए फिर्ता लिएको घोषणा पनि गर्नुभयो । ‘मैले आफ्ना कुरा राख्ने क्रममा पार्टी एकतालाई नै अर्को अर्थ लाग्ने गरी अभिव्यक्ति दिएको रहेछु भने बोली फिर्ता लिन चाहन्छु,’ प्रचण्डको भनाई थियो ।

मैले आफ्ना कुरा राख्ने क्रममा पार्टी एकतालाई नै अर्को अर्थ लाग्ने गरी अभिव्यक्ति दिएको रहेछु भने बोली फिर्ता लिन चाहन्छु

बैठकमा दुवै अध्यक्षले आफूहरुबीच निरन्तर संवाद चलिरहेकाले यस विषयमा अनेक तर्कना गरिरहन आवश्यक नभएको भन्दै भिडाउने च्याप्टर क्लोज गरिदिनु भएको हो । ‘हामीले एकअर्कालाई विश्वास गरेर सहमतिपत्र लेख्ने र हस्ताक्षर गर्ने काम भएको हो, म आफैं अबको प्रधानमन्त्री केपी कमरेड भनेर चुनावमा गएको थिएँ,’ बैठकमा प्रचण्डको भनाई थियो ।

यस्तै दुवै अध्यक्षले एमाले–माओवादी दुवै पार्टीका नेता–कार्यकर्ता एकै डुंगामा सवार रहेकाले डुब्दा सबै डुब्ने भन्दै भिडाउने होइन, सघाउने भुमिकामा रहन सचेत गराउनु भएको थियो । यसरी संसदीय दलको बैठकसम्म आइपुग्दा ओली र दाहाल भिडाउने नेकपाभित्रबाटै चलाइएको प्रतिक्रियावादी षडयन्त्र बिफल भएको हो ।