काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थानीय तहको निर्वाचन गर्न छाडेर लुटपाटमा लागेको आरोप लगाउनुभएको छ । संखुवासभा जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएपनि सरकारको ध्यान यता नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘सरकार लुटपाटमा लागेको छ । चुनावतिर होइन् ।’स्थानीय निर्वाचन सम्बन्धि ऐनमा पहिलोपटक निर्वाचन भएको मितिको दुई महिना अगाडी नै नेतृत्व चयन हुनुपर्ने भएपनि त्यसको तयारी नभएको उहाँले बताउनुभयो ।ओलीले २०७४ सालमा स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाखमा सम्पन्न भएकाले फागुनमा नै अहिले निर्वाचन हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो , ‘स्थानीय निर्वाचनसम्बन्धि ऐनअनुसार पहिलोपटक जुन मितिमा हुन्छ । त्यसको दुई महिना अगाडि गरिसक्नु पर्छ । चरण चरणमा निर्वाचन भए पनि पहिलो चरणमा भएको मितिले दुई महिना अगाडी नै निर्वाचन हुनुपर्ने हो । २०७४ को निर्वाचनको समय मानेर दुईमहिना अगाडी निर्वाचन गरिसक्नुपर्छ भनेको फागुनमा गर्ने हो । तर फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन ।
’विगतमा पनि सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर कर्मचारीमार्फत चलाएको स्मरण गर्दै अहिले पनि सोही प्रकारको षडयन्त्र भइरहेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘०५९ सालमा पनि जनप्रतिनिधिहरुको चुनाव गरेर म्याद थपिएन । त्यो बेला कर्मचारीहरुको जिम्मा लगाइएको थियो । त्यसपछि स्थानीय तह पङ्गु भए । पछि २०७४ सालमा प्रतिनिधिहरुको निर्वाचन भयो । अहिले फेरि सरकारले निर्वाचन गर्नेमा शंका छ ।’अध्यक्ष ओलीले एमालेले काम गर्न नसकेर सरकारबाट बाहिरएको नभइ दुनिया हल्लाउने गरि काम भएपछि ढालिएको बताउनुभयो ।विश्वबैंक, युनेस्को र डब्ल्युएचओलले समेत आफू नेतृत्वको सरकारको प्रशंसा गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो , ‘एमालेले नेतृत्व गरेको सरकारका बेला नेपालको प्रशंसा विश्व बैंकले गरेको थियो ।
शिक्षाको क्षेत्रमा युनेस्कोले प्रशंसा गरेको थियो । स्वास्थ्यको क्षेत्रमा डब्ल्यूएचओले प्रशंसा गरेको थियो । स्रोत साधन नभए पनि कोभिडविरुद्ध लडेकोमा प्रशंसा गरेका थिए । तर षडयन्त्र गरेर केही तत्वले हामीलाई हटाए । षडयन्त्र सँधै काम लाग्दैन । षडयन्त्रकारीहरु जनताका माझ जान डराइरहेका छन् ।’













प्रतिक्रिया दिनुहोस्