जनता टाइम्स

२८ पुष २०७८, बुधबार ०९:४७

माधवलाई अर्को ब्रजपात : कर्मचारी संगठनका अध्यक्षसहित केन्द्र र जिल्ला कमिटी एमालेमा फर्किए


काठमाडौं, पुस २८ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई दिनप्रतिदिन एक पछि अर्को धक्का लाग्दै गएको छ । (एस)निकट नेपाल निजामति कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारी र सदस्य एमाले निकट मूल संगठनमै फर्किए पछि नेपाललाई धक्का लागेको हो । एमाले विभाजनलगत्तै नेपाल कर्मचारी संगठन विभाजित भएको थियो ।

विभाजित भएको संगठनका अध्यक्ष रेवन्त गौतमसहित वरिष्ठ उपाध्यक्ष मोहन गिरी र अधिकांश पदाधिकारीसहित सो संगठन नेपाल निजामति कर्मचारी संगठनमा विलय भएको हो ।नेपाल निजामति कर्मचारी संगठन ११ औं राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक केदार प्रसाद देवकोटा र एसनिकट संगठनका अध्यक्ष तथा हाल सचिवालय सदस्य गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै माघ १४ र १५ मा हुने महाधिवेशन सम्पन्न गर्न आह्वान गर्नूभएके छ ।

एस निकट संगठनका संस्थापक अध्यक्ष गौतम, वरिष्ठ उपाध्यक्ष मोहन गिरी, उपमहासचिव रामचन्द्र अधिकारी, सचिव ओम कठायत एमाले निकट संगठनमै फर्किनुभएको हो । त्यस्तै केन्द्रीय सदस्यहरु अमर गिरी, पदमराज जोशी,रामचन्द्र पण्डित, शान्ति विष्ट, लक्ष्मी योगी, अमृता रावत, जयदेश जोशी लगायत २१ जना केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा विभागीय सदस्यसमेत ३०१ जनाले नेकपा एस परित्याग गरेको गौतमले जनाउनुभयो ।