जनता टाइम्स

३० पुष २०७८, शुक्रबार १५:५३

डेढ अर्ब उठाएर भारततिर भागे दुई ठूला ब्यापारी, पाँच बाणिज्य बैंकको ३ अर्व लगानी उच्च जोखिममा


काठमाडौं, पुस ३० । बैंक तथा बित्तिय संस्थाबाट डेढ अर्ब भन्दा बढी रकम उठाएर ठूला घरानाका दुई ब्यापारी दाजुभाई फरार भएका छन । नेपालकै सबैभन्दा ठूलो रक्सी विक्रेता ग्रीनलाईन सञ्चालक तथा मदिरा आयातकर्ता अभिषेक अग्रवाल र अमित अग्रवाल बैंक, सहकारी तथा केही व्यक्तिसँग १ अर्ब ५० करोडभन्दा धेरै रकम उठाएर फरार भएका हुन ।

फरार ब्यापारी अभिषेक र अमित दाजुभाइ हुन । बैंकहरूसँग पैसा लिएर भागेपछि इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले उनीहरूको सम्पत्तिमा सूचना टाँस गरेको छ । अन्य केही बैंक र सहकारी सूचना टाँस गर्ने तयारीमा रहेका छन । अग्रवाल दाजुभाईले बैंक, सहकारी तथा केही व्यक्तिसमेतका पैसा लिएका छन । स्रोतका अनुसार ग्रीनलाईनमा इन्भेष्टमेन्ट बैंकले २५ करोड रुपैयाँ र एभरेष्ट बैंकले २२ करोड रूपैयाँ कर्जा लगानी गरेका थिए । बाँकी अन्य बैंकको ५० लाख भन्दा धेरै लगानी रहेको स्रोतले बतायो । सहकारी तथा केही व्यक्तिले समेत लगानी गरेको छ ।

पैसा उठाएर भागेपछि ग्रीनलाईनसँगै अग्रवालको ज्ञानेश्वरमा रहेको घरमा समेत बैंकले सूचना टाँस गरेको छ । सो ठाउँमा १५ आनाभन्दा धेरै क्षेत्रफलमा अग्रवालको घर रहेको छ । ग्रीनलाईनका अग्रवालले कर्जा लिएको भनेर सूचना टाँस गरिएको छ । अग्रवालको नाममा रहेको सम्पत्तिमा आफ्नो हक लाग्ने भनेर एभरेष्ट र इन्भेष्टमेन्ट बैंकले मदिरा आउटलेटमा समेत ताला लगाएको छ । ग्रीन लाईन सेन्टरका प्रबन्ध निर्देशक अभिषेक अग्रवाल र सीइओ अमित अग्रवालले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडसहित ५ वाणिज्य बैंकहरुको ३ अर्ब भन्दा बढी कर्जा लिएको पाइएको छ ।

विभिन्न ठाउँमा जग्गा तथा अपार्टमेन्टमा फ्ल्याट खरिद गरेका अग्रवाल दाजु भाई जनकपुर निवासी हुन् । उनीहरूको जग्गा तथा अपार्टमेन्टमा पनि लगानी रहेको छ । ग्रीनलाईनले तारे होटल, रेष्टुरेन्टमा विदेशी मदिरा बिक्री गर्ने गरेको थियो । ग्रीनलाईनले विदेशी महँगा मदिरा गर्ने गरेको थियो । ग्रीनलाईन ठूला करदाताको सूचीमा समेत रहेको छ । नेपालमा मदिरा कारोबार गर्न अग्रवालको परिवारले अलायन्स डिस्ट्रिब्युटर्स, अमिअभि ट्रेडिङ र ग्रीनलाइन सेन्टर दर्ता गरेका थिए । अग्रवालको परिवार भागेपछि प्रहरीले समेत खोजी गरिरहेको छ ।