जनता टाइम्स

१७ असार २०७६, मंगलवार १५:१८

पूँजी बजारले राम्रोसँग काम नगरे सरकार हस्तक्षेप गर्न बाध्य हुन्छ : अर्थमन्त्री खतिवडा


काठमाडौं, असार १७

अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताउनुभएको छ । अर्थमन्त्री खतिवडाले पूँजी बजारलाई संचालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने पनि स्पष्ट पार्नुभयो । राजधानीमा आजदेखि सुरु भएको वित्तिय साक्षरतासम्बन्धि वृहत अन्तराष्ट्रिय सम्मेलनमा उहाँले नेपालमा पनि पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नुपरेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तिय साक्षर बनाउनुपर्नेमा पनि जोड दिनुभयो । ५० लाखभन्दा बढि युवाहरुले वैदेशिक रोजगारीमा गएका कारण उहाँहरुको परिवारका सदस्यले वित्तिय कारोबार गरेपनि सुरक्षित र भरपर्दो बैंक तथा वित्तिय संस्थाहरुको बारेमा जानकारी नभएको बताउनुभयो । उहाँले महिलाहरु पनि वित्तिय कारोवारमा संलग्न हुने क्रम बढ्दै गएकाले उनीहरुलाई साक्षर बनाउने काममा पनि लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तिय संस्थालाई भरपर्दो प्रविधिको प्रयोग गर्न पनि सचेत गराउनुभयो । नेपाल धितो पत्र बोर्ड र ओईसिडीले वित्तिय साक्षरता बढाउने उद्देश्यका साथ गरेको २ दिने अन्तराष्ट्रिय सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रलिया, भुटानसहितका पूँजी बजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी रहेका छन् ।