जनता टाइम्स

२ माघ २०७८, आईतवार २०:२५

पर्यटनमन्त्री आलेको कालो कर्तुत बाहिरीयो : गुरूयोजनाविपरित रिसोर्टलाई जग्गा दिन दबाब


काठमाडौं, २ माघ । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेको कालो कर्तुत बाहिरीएको छ । मन्त्री आलेको दबाबमा लुम्बिनी विकास कोषको जग्गा गुरूयोजनाविपरित रिसोर्ट बनाउन दिने प्रक्रिया अगाडि बढेको हो।

लुम्विनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री आलेको दबाब, निर्देशन र ठाडो हस्तक्षेपमा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोष भित्र रिसोर्ट सञ्चालन गर्न दिने निर्णय गरिएको हो। संसार वेलनेस कम्पनी उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यको कम्पनी हो।

वैद्य आफूले लुम्विनी विकास कोषको उपाध्यक्ष रहँदैदेखि लुम्बिनीभित्र होटल बनाउने योजना तयार गर्नुभएको थियो । लुम्बिनी विकास कोषको उपाध्यक्ष रहँदा त्यहाँको महत्व र जग्गा प्राप्ती गर्ने बाटाहरू पहिल्याउनु भएका उहाँले अहिले आएर रिसोर्ट सञ्चालनको लागि दिने निर्णय गराउन सफल भएको लुम्बिनी विकास कोषले निकट एक स्रोत जनाएको छ ।

संसारा वेलनेसले लुम्बिनीग्रामस्थित श्रीलङ्काको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउण्डको जग्गा रिसोर्ट सञ्चालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामू प्रस्ताव गरेको छ।जापनिज वास्तुविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी विकास गुरूयोजनामा चार विगाह क्षेत्रफलमा फैलिएको क्याम्पियन ग्राउण्डमा आठ/नौ वटा कोठा, खुल्ला स्थान, शौचालय, क्याम्प फायर र पिकनिक स्पट राख्ने उल्लेख छ। तर संसारा वेलनेसले पेश गरेको प्रस्तावमा भने मेडिटेसन सञ्चालन गर्ने मेडिटेसनको लागि आउने पाहुनाको आवासको लागि रिसोर्ट सञ्चालन गर्ने उल्लेख गरिएको छ।

होक्के होटल, होटल कासाइ र श्रीलङ्काको पिलग्रिमेज हाउस यसअघि नै सञ्चालन भईसकेका छन्।संसारा वेलनेसले तत्कालिन संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री भानुभक्त ढकालकै पालोमा लुम्बिनी ग्राममा रहेको क्याम्पियन ग्राउण्डभित्र रिसोर्ट सञ्चालन गर्ने प्रस्ताव पेश गरे पनि अगाडि बढ्न सकेको थिएन।

तर गत असोजमा प्रेमकुमार आले मन्त्री बनेर आएपछि भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमार्फत मन्त्री आले समक्ष पुनः प्रस्ताव लगेर डेढ महिनामै उक्त जग्गा संसार वेलनेसलाई दिने निर्णय गरिएको स्रोतको दावी छ।लुम्बिनी विकास कोषका अनुसार संसारा वेलनेसलाई जग्गा दिने प्रस्ताव मन्त्रालयबाटै सिधै विकास कोषको बैठकमा पेश गरिएको थियो। ‘जग्गा दिने प्रस्ताव मन्त्रालयबाटै आएको थियो।’ विकासकोषका एक सदस्यले बताउछन् ।

श्रोतका अनुसार उक्त प्रस्तावलाई निर्णय गर्न लुम्विनी विकास कोषका पदाधिकारीले नमानेपछि मन्त्री आलेले विकास कोषका पदाधिकारीलाई राजीनामा गर्न समेत दबाब दिनुभएको थियो । लुम्बिनी विकास कोष भित्रको जग्गा गुरूयोजना विपरित रिसोर्ट सञ्चालनको लागि दिन अस्वीकार गरेपछि विकास कोषका पदाधिकारीसँग रिसाएका मन्त्री आलेले लुम्विनी गार्डेन फाउण्डेसनले गौतमबुद्ध विमानस्थलमा बुद्धमूर्ति राख्न आयोजित कार्यक्रममै उहाँहरूलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो ।

‘जग्गाको विषयमा मन्त्रीज्यू पहिलेदेखि असन्तुष्ट हुनुहुन्थ्यो, अर्कैले आयोजना गरेको कार्यक्रममा उहाँलाई बोल्न नदिएपछि त्यो रिससमेत हामीमाथि पोख्नुभयो,’ विकासकोषका एक सदस्यले भन्नुभयो । गत मंसिर ११ गतेको बैठकले रिसोर्ट सञ्चालनको लागि जग्गा दिने निर्णय गरेको हो। यसैबीच लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यले संसारा वेलनेस नामक कम्पनीलाई जग्गा दिई नसकिएको तर मेडिटेसन सञ्चालन गर्ने र मेडिटेसन गर्न आउनेलाई बस्ने सुविधा सहितको रिसोर्ट संचालनका लागि प्रस्ताव पेश गरेकोले त्यसको विस्तृत परियोजना माग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

शाक्यले संसारा वेलनेसले प्रस्ताव गरेको जग्गा मोनाष्ट्रि जोन भित्रको नभई गुरूयोजनामा नै क्याम्पियन ग्राउण्डको लागि छुट्टयाएको क्षेत्र भएकोले सैद्धान्तिक रुपमा मात्रै निर्णय गरिएको उहाँले बताउनुभयो । ‘उहाँहरुलाई गुरूयोजना अनुरूपको संरचना निर्माण गर्न दिने भन्ने निर्णय भएको छ, गुरुयोजनाभन्दा बाहिर प्रस्ताव आयो भने स्वीकृत हुँदैन,’ शाक्यले भन्नुभयो ।

लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनीयर सरोज भट्टराईले क्याम्पियन ग्राउण्डको जग्गा रिसोर्टको लागि दिईनसकिएको र प्रस्ताव गरेको कम्पनीको विस्तृत योजना माग गर्ने निर्णय मात्रै गरिएको दावी गर्नुभयो । तर विकास कोषका एक सदस्य भने रिसोर्ट सञ्चालनको लागि मन्त्री आलेको चर्को दबाब रहेको तथ्य खोल्नुभयो ।