जनता टाइम्स

६ माघ २०७८, बिहीबार ००:००

पर्यटनमन्त्री आलेकै सांसदले तिरेनन पशुपति क्षेत्र बिकास कोषलाई एक करोड भाडा, मिनाह गराउन चलखेल (प्रमाणसहित)


गणेश बस्नेत/काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेम आलेले आफ्नो पार्टीका सांसदले पशुपति क्षेत्र बिकास कोषलाई तिर्नुपर्ने करोडौं रकम मिनाह गराउन चलखेल अघि बढाउनु भएको तथ्य खुलेको छ । नेकपा एकीकृत समाजवादीका नेता तथा बागमति प्रदेशका सांसदसमेत रहनुभएका लक्ष्मण लम्सालसहितका ब्यक्तिहरुले सञ्चालन गरेको प्राणनाथ क्याफेले तिर्न बाँकी रकम मिनाहको चलखेल भएको हो ।

कोषका अनुसार सो क्याफेले गत कात्तिकसम्मकै ८५ लाख २४ हजार ४७ रुपैयाँ भाडाबापतको रकम बुझाउन बाँकी छ । तीन महिना थप हुँदा यो रकम अझै थपिएको छ । तर पर्यटनमन्त्री आले भने ब्यवसाय गरेर कमाउने आफ्नो पार्टीका सांसदलाई छुट गराउने र पशुपति क्षेत्र बिकाश कोषलाई टाट पल्टाउने योजनामा लाग्नुभएको छ ।

‘मेरो मन्त्रालयमा हाम्रो पार्टीको मान्छेको जे काम पनि हुन्छ, भाडा तिर्नु पर्दैन’ मन्त्री आलेले कोष डुवाउने र पार्टीको आडमा लुटतन्त्र मच्चाउने काम गरिरहेको मन्त्रालयकै एक सहसचिवले जनताटाइम्स डटकमलाई बताए । ‘मन्त्रीज्यूले लक्ष्मण लम्साल हाम्रो पार्टीको नेता हो, पशुपतिको त्यो कुरा मिलाउनु’ भन्दै भाडा असुली नगर्ने बताउनु भएको ती सहसचिवको भनाई छ ।

पशुपति क्षेत्र बिकाश कोससँग सांसद लम्साल र कृष्णप्रसाद रिजालसहितका ब्यक्तिहरुले २०७२ साल साउन ३२ गते प्राणनाथ क्याफे सञ्चालनको संझौता गरेका थिए । पशुपति क्षेत्र बिकाश कोषको स्वीकृत गुरुयोजना अन्तर्गत तीलगंगास्थित पर्यटन सूचना केन्द्रमा पर्यटकहरुका लागि प्रवेश टिकट बिक्रि काउण्टरसहित सेवा सुविधा पुर्याउने उदेश्यले निर्माण गरिएको भवनमा चिया कफीको सुविधासहितको सुद्ध साकाहारी चमेना गृह एवं सोभिनियर पसल सञ्चालनका लागि लम्सालसहितका सञ्चालकले संझौता गर्नुभएको थियो । सो संझौताअनुसार कोषलाई मासिक ७१ हजार ५ सय रुपैयाँको दरले भाडा बुझाउने पर्नेमा लम्सालसहितका नेताहरुले कोषलाई भाडा नतिरी अटेर गरेका हुन । संझौंतामा ३० बुँदे सर्त राखिएको छ । जस्को २२औं बुँदामा भाडा सम्बन्धी ब्यवस्था रहेको छ ।

‘दोस्रो पक्ष (प्राणनाथ क्याफे सञ्चालक) ले भवनमा चिया कफीको सुविधासहितको सुद्ध साकाहारी चमेना गृह (भेजिटेरियन क्याफे) एवं सोभिनियर पसल (पर्यटन सेवा केन्द्र) तिलगंगाको भवनमा सञ्चालन गरेबापति पहिलो पक्ष (कोष) लाई मासिक रु ७१,५०० (एकहत्तर हजार पाँच सय रुपैया मात्र) प्रत्येक महिनाको ७ गतेभित्र बुझाउनु पर्नेछ । मासिक भाडा रकम कोषको आर्थिक प्रशासन महाशाखामा बुझाउनु पर्नैछ । १० प्रतिशत बिलम्ब शुल्कसहित सोही महिनाको मसान्तभित्र शुल्क बुझाउन सकिने छ । प्रत्येक बर्ष संझौताको भाडादरमा १० प्रतिशत का दरले बृद्धि गरिने छ । यसरी बृद्धि भएको भाडादर समेत समावेश हुने गरी तोकिएको समयभित्र भाडा बुझाउनु पर्नेछ । भाडा बुझाउन नसकेमा संझौता रद्ध गरी धरौटी जफत गरिने छ । साथै सो स्थानबाट सञ्चालकले चल–अचल सामान निकाल्न नपाउने गरी भएको क्षतीको क्षतीपूर्ति सञ्चालकबाट असुल उपर गरिने छ,’ संझौताको २२ औं बुँदामा भनिएको छ ।

यसैगरी २३औं बुँदामा प्रचलित कानून बमोजिम नेपाल सरकारलाई बुझाउनु पर्ने सम्पुर्ण कर (सेवा शुल्क, मूल्य अभिबृद्धि कर, तथा आयकर सञ्चालक स्वयंले बेहोर्नुपर्ने उल्लेख छ ।

हेर्नाेस संझौताको प्रतिलिपि

कोषसँग यसरी संझौता गरेको क्याफेले माधव नेपालको आडमा अहिलेसम्म भाडा नतिरेको हो । अव भने भाइरल मन्त्री प्रेम आलेको आडमा ब्यवसाय गरी कमाएको रकमको करदेखि भाडासमेत कोषलाई नै भिडाएर करोडौं कमाउने दाउमा लाग्नुभएको हो । लम्सालसमुहकै योजनाअनुसार धर्मशालादेखि अन्य क्षेत्रसमेत हडपने योजना मन्त्री आलेले बनाउनु भएको सोही मन्त्रालयका अर्का अधिकारीले बताएका छन । केही समययता मन्त्री आलेले आर्थिक असुली हुने सवैतिर हात हालेको ती अधिकारीले जनताटाइम्स डटकमलाई बताए ।

मन्त्री आलेकै कारण कोषले करोड रुपैया बक्यौता हुँदा पनि सो क्याफेमाथि कार्वाहीसमेत गर्न सकेको छैन । संझौता तोडेर क्याफे सञ्चालकहरु हिडे पनि मन्त्री आलेकै पार्टीको सांसद भएकोले संरक्षण गर्नुका साथै कोषमाथि नै आर्थिक भार थोपर्ने योजना बनाइएको मन्त्रालयकै अधिकारीहरुले बताएका छन ।