जनता टाइम्स

९ माघ २०७८, आईतवार ०८:५२

ललितपुरको सुनाकोठीस्थित बाललकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानो मूर्ति चोरी


ललितपुर, माघ ९ । ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राती बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो ।

बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन् । उहाँले भन्नुभयो, ‘मूर्ति चाही पित्तलको हो । तर हाम्रा जिजुबराजुको पालाको ।’ केही गहना भने लकर राख्ने गरिएको उहाँले बताउनु भयो । मूर्ति रातको १ बजेदेखि २ बजेभित्र चोरी भएको महर्जनको भनाइ छ ।

उहाँका अनुसार करिब २० वर्षअघि यो मूर्ति कुर्न स्थानीय राति मन्दिरमा सुत्ने गर्दथे । समस्या आएपछि त्याहा मूर्ति कुर्न पनि छोडिएको थियो । बालकुमारी चौरमासमेत बालकुमारी मन्दिर रहेको छ । यस मन्दिरलाई पिठ मानिन्छ । पिठ मन्दिरलाई आमा मानिन्छ भने सुनाकोठी बजार क्षेत्रमा रहेको मन्दिरलाई छोरी मानिन्छ । हरेक वर्ष मंसिर र वैशासमा यस मन्दिरमा जात्रा लाग्ने गर्छ ।

डिएसपी कार्कीले प्रहरीले घटनास्थल पुगेर घटना विवरण लिए लगत्तै अनुसन्धान सुरु गरिएको बताउनु भयो ।