जनता टाइम्स

११ माघ २०७८, मंगलवार १८:३६

करोडपति मुख्यमन्त्री-अर्वपति मन्त्री, कस्को सम्पत्ति कति ?


काठमाडौं, माघ ११ । प्रदेश नं १ का मुख्यमन्त्री र मन्त्रीहरुको सम्पत्ति निकै बढी देखिएको छ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा मुख्यमन्त्री भन्दा मन्त्री धनी देखिएका छन । राईले बुझाएको सम्पत्ति बिवरणअनुसार उहाँको दम्पत्तीको बैंक खातामा ८६ लाखभन्दा बढी नगद रहेको छ ।

मुख्मयन्त्री राईले पेश गरेको सम्पत्ती विवरणमा उक्त बराबरको नगद रहेको उल्लेख छ । बिवरणअनुसार मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका–११ मा बाबुबाट प्राप्त गरेको पाँच आना जग्गा रहेको छ भने श्रीमती शोभा पाठकको नाममा ६७ लाख ७० हजार रुपैयाँ र आफ्नो नाममा दुई ओटा बैंकको खातामा १९ लाख रुपैयाँ रहेको सम्पति विवरणमा उल्लेख छ ।

मुख्यमन्त्री राईले दुवै बैंकको रकम तलब भत्ताबाट आम्दानी भएको र श्रीमतीको खातामा भएको रकमको स्रोत स्कुलको स्वामित्व विक्री र माइतीबाट पाएको उल्लेख गर्नुभएको छ । यस्तै मुख्यमन्त्री राईसँग १० तोला सुन र एउटा मोटरसाइकल रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रदेश १ सरकारमा मुख्यमन्त्री भन्दा मन्त्री धेरै धनाड्य देखिएका छन । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको मोरङका विभिन्न ठाउँमा ११ ओटा घडेरी रहेको पाइएको छ । बुढीगंगा गाउँपालिका–२ स्थायी निवासी कार्कीको विराटनगरको मुख्य बजारको सात ठाउँमा जग्गा रहेको छ । सो घडेरी कार्कीकी पत्नी शान्तादेवी बस्नेतको नाममा रहेको बिवरणमा उल्लेख छ । विराटनगर महानगरपालिका–७ को मुख्य बजार क्षेत्रमा ६ ओटा घडेरी र विराटनगर–९ बखरीमा एक विघा २ कट्ठा दुई धुर जग्गा मन्त्री कार्कीकी पत्नी बस्नेतको नाममा रहेको छ । यस्तै बुढीगंगा गाउँपालिका–२ मा घर भएको जग्गाबाहेक ८ धुर, ११ धुर गरी दुई कित्ता र बुढीगंगा गाउँपालिका–८ मा तीन कट्ठा जग्गा छ ।

बुढीगंगाको घर जग्गालाई पैत्रिक रहेको विवरण पेस गरेका कार्कीले बुढीगंगाको घडेरी जागिर, बोनस र ऋण गरेर किनेको उल्लेख गर्नुभएको छ । विराटनगरको सात ओटा ठाउँको जग्गा भने घडेरी र जमिन बिक्रीबाट खरिद गरेको उल्लेख छ । कार्कीको सम्पत्ति विवरणमा २५ तोला सुन र ८० तोला चाँदीका साथै परिवारका सदस्यको ३६ ओटा कम्पनीमा शेयर रहेको पनि उल्लेख छ । कार्कीको बैंकमा वचत एक लाख रुपैयाँ छ भने श्रीमतीको कृषि बिकास बैंकमा रहेको खातामा २३ लाख ८ हजार र एभरेष्ट बैंकमा ८२ हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै छोरा शाकेतबाबु कार्कीको नाममा १ लाख १२ हजार र शाब्दिकबाबु कार्कीको नाममा ३ लाख ४७ हजार रुपैयाँ रहेको बिवरणमा उल्लेख छ ।

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले भने धन भन्दा ऋण बढी देखाउनु भएको छ । उहाँले पसल, जलविद्युत आयोजना र बङ्गुर फर्ममा लगानी गरेको र आफूसँग २ करोड ९० लाख रुपैयाँ ऋण रहेको उल्लेख गर्नुभएको छ । दोस्रो पटक आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएका आङ्बोले गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४२ लाख ऋण बढेको उल्लेख गर्नुभएको छ । आङ्बोको श्रीमती कुमारी लावतीको नाममा पालुङ खोला हाइड्रोमा १० प्रतिशत सेयर छ । यस्तै मिक्लाजुङमा दुई विघा क्षेत्रमा बङ्गुर फर्म चलाएको र २५० ओटा बङ्गुर र ३० लाख लगानीमा फेन्सी कपडा पसल खोलेको विवरण राख्नुभएको छ । आङ्बोको दाजुको नाममा फिदिममा १० रोपनी, झापामा श्रीमती कुमारी लावतीको नाममा चार कट्ठा जग्गा र घर रहेको उल्लेख गर्नुभएको छ ।

फिदिममा बुबा नरेन्द्रप्रसाद आङ्बोको नाममा ५० रोपनी जग्गा रहेको र १० तोला सुन तथा २० तोला चाँदी रहेको उहाँले जनाउनु भएको छ । आङ्बोले नेपाल इन्भेष्टमेन्ट बैंकमा २ करोड ३५ लाख र एनएमबी बैंकमा ५५ लाख ऋण रहेको उल्लेख गर्नुभएको छ । गत आर्थिक वर्ष आङ्बोले पेश गरेको सम्पती विवरणमा २ करोड ४८ लाख ऋण रहेको उल्लेख थियो ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले करीब साढे ९ बीघा जग्गा रहेको विवरण पेश गर्नुभएको छ । कृषि विकास बैंकमा मन्त्री कार्कीको नाममा रहेको खातामा ४० लाख रुपैयाँ बचत छ । उहाँको नाममा उदयपुरको त्रियुगा नगरपालिका– २, ७ र ८ का पाँच स्थानमा गरी ९ बीघा ८ कट्ठा जग्गा छ । यस्तै उहाँसँग १० तोला सुन, ३० तोला चाँदी, दुई ओटा भैंसी, कुखुराको फर्म र ३ ओटा माछा पोखरी रहेको बिवरणमा उल्लेख छ ।

सामाजिक विकास मन्त्री जयराम यादवले काठमाडौंमा घर रहेको विवरण पेश गर्नुभएको छ । यादवको काठमाडौं महानगरपालिका–३५ मा घर छ । २०६९ सालमा घर खरिद गरेको विवरण दिनुभएका मन्त्री यादवको विराटनगरमा पैतृक सम्पत्ति र घर रहेको उल्लेख छ । काठमाडौंको घरबाहेक मोरङ र काठमाडौंंको ८ स्थानमा जग्गा रहेको पनि उल्लेख छ । यादवसँग काठमाडौंको जितपुरमा घडेरी र मोरङको विभिन्न सात स्थानमा जग्गा रहेको छ । यस्तै ५१ तोला सुन र ३ किलोग्राम चाँदी रहेको बिवरणमा उल्लेख छ । मन्त्री यादवको परिवारसँग साढे १६ लाख रुपैयाँ बचत छ ।

उहाँले सप्तकोसी पोल्टी फर्ममा २५ लाख शेयर लगानी गर्नुभएको छ । यस्तैइटहरीको कन्चनजंगा बोडिङ स्कुलमा यादवको २१ लाख रुपैयाँ लगानी छ । त्यसबाहेक विभिन्न ८ ओटा कम्पनीको शेयर किनेको र ४५ लाख रुपैयाँ ऋण लिएको विवरण पेस गर्नुभएको छ ।

सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फेको नाममा इटहरीमा १२ धुर घडेरी रहेको उल्लेख छ । घडेरीको स्रोत श्रीमानले अमेरिकामा गरेको कमाइ उल्लेख गर्नुभएकी तुम्बाहाम्फेले १२ तोल सुन र सात लाख रुपैयाँ बचत रहेको विवरण पेश गर्नुभएको छ ।