जनता टाइम्स

१४ माघ २०७८, शुक्रबार ०९:५८

पर्यटनमन्त्री प्रेम आलेको कमाउ धन्दा, पैसा असुल्दै क्यासिनोको लाइसेन्स बाँडदै


काठमाडौं, माघ १४ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आर्थिक लेनदेनका आधारमा धमाधम क्यासिनोको इजाजतपत्र (लाइसेन्स) वितरण गर्न थाल्नुभएको छ । नेपाल बायु सेवा निगमको सम्त्ति कौडीको भाउमा बिक्रि गर्ने योजना अघि बढाउनु भएका मन्त्री आलेले मन्त्रालयको नेतृत्व सम्हालेपछि ५ वटा क्यासिनोलाई लाइसेन्स दिनुभएको तथ्य खुलेको छ ।

आलेले पर्यटन मन्त्रालय सम्हाल्नुअघि इजाजतपत्र प्राप्त गरेका क्यासिनोको संख्या नेपालमा १७ थियो, अहिले २२ पुगिसकेको छ । पर्यटन विभागकाअनुसार चालु आर्थिक वर्षमा जारी भएका ६ मध्ये ५ वटा क्यसिनोले आले मन्त्री भएपछि नै लाइसेन्स लिन सफल भएका हुन । आले गत २२ असोजमा पर्यटनमन्त्री नियुक्त हुनुभएको थियो । मन्त्रीलाई नजराना बुझाएपछि सहजै लाइसेन्स पाइन थालेपछि क्यासिनोको लाइसेन्स लिनेको संख्या बढेको हो ।

क्यासिनो नियमावली २०७० अनुसार क्यासिनोको इजाजतपत्र र यससम्बन्धी नीतिगत व्यवस्था मन्त्रालयबाट जारी हुन्छ । लाइसेन्सका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने तय गरिएको छ । तोकिएको क्षेत्रका होटलका सञ्चालकको सहमतिमा क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले पूर्वस्वीकृति लिने प्रक्रिया पूरा गर्नुपर्छ । नियमावलीअनुसार मन्त्रालयले विज्ञ समिति बनाएर प्रस्तावित क्यासिनोको स्थलगत अध्यनसहित राय दिनुपर्छ । समितिले राय दिएको २१ दिनभित्र क्यासिनो सञ्चालनको सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, मन्त्री आलेले भित्रभित्रै प्रक्रिया टुंग्याएर लाइसेन्स दिइरहनु भएको हो ।

मन्त्री आलेले २०७८ कात्तिक २ गते झापा मेचीनगरको होटल मेची क्राउनमा भेगास रिक्रियसनलाई लाइसेन्स दिनुभएको छ । यो गुण्डानाइके बलराम सापकोटा ‘बले’ को लगानी रहेको यो क्यासिनो हो । सापकोटासहित उहाँका श्रीमतीबिरुद्ध २०७७ असोज १९ गते सम्पत्ति शुद्धीकरण विभागले १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। जुन अझै विशेष अदालतमा विचाराधीन रहेको छ ।

काभ्रेको रोशी ४ घर भई हाल लाजिम्पाट बस्दै आएका बलेसँग पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको स्रोत नखुलेको शेयर लगानी भटिएको दाबी गर्दै सम्पत्ति शुद्धीकरण विभागले जफतको लागि आदालतमा माग दाबी पेश गरेको छ । तर मुद्दा टुंगो नलाग्दै बलेको लगानीमा रहेको क्यासिनोलाई मन्त्री आलेले इजाजतपत्र दिनुभएको हो । आर्थिक लेनदेनका आधारमा यो काम भएको मन्त्रालयकै बरिष्ठ अधिकारीहरुले बताएका छन ।

यस्तै पर्यटनमन्त्री आलेले नेपालगञ्जमा रहेका ४ वटा होटलमा क्यासिनो खोल्न अनुमति दिनुभएको छ । आलेले बिना अध्ययन १ देखि ३ किलोमिटरको दूरीमा रहेको होटलमा ४ वटा क्यासिनो चलाउने गरी लाइसेन्स जारी गर्नुभएको हो । पर्यटन बिभागका अनुसार गत कात्तिक ९ गते पर्यटन मन्त्रालयले नेपालगञ्जको होटल स्नेहामा क्यासिनो बेल्लिज इन्टरटेनमेन्टलाई लाइसेन्स दिएको छ । क्यासिनो नियमावलीअनुसार प्रस्तावित क्यासिनोको नाम पहिले नै स्थापना भई कायम रहेको क्यासिनोको नामसँग मिल्ने भएमा लाइसेन्स दिन सकिँदैन । तर काठमाडौंको होटल मल्लमा सञ्चालनमा रहेको बेल्लिजकै नामसँग मिल्ने गरी क्यासिनोको नेपालगञ्जमा लाइसेन्स जारी भएको छ ।

यसैगरी कात्तिक १२ गते फेरि नेपालगञ्जकै होटल स्टार लाइटको भेन्यू रिक्रिएसनले पनि लाइसेन्स पाएको छ । १४ पुस २०७८मा नेपालगञ्जको होटल सिटी प्यालेसस्थित सेटिएर इन्टरटेनमेन्टले पनि लाई क्यासिनोको अनुमतिपत्र पायो । १६ पुस २०७८मा नेपालगञ्जको होटल कल्पतरुस्थित ‘ओम त्रयम्बकम इन्टरटेन्मेन्ट’ क्यासिनोले पनि लाइसेन्स पायो ।

पर्यटन मन्त्रालयले काठमाडौंको होटेल अलफ्टमा पनि ‘वाल्ड इन्टरटेनमेन्ट’ नामको क्यासिनो सञ्चालनको अनुमति दिन तयारी गरेको छ । अहिले ७ वटा क्यासिनोले रोयल्टी बक्यौता नतिरेपनि सर्वोच्च अदालतको अन्तिरिम आदेश देखाएर चलिरहेका छन् । २ वटा क्यासिनो बन्द भइसकेका छन ।