जनता टाइम्स

१६ माघ २०७८, आईतवार ११:१५

देउवा सरकारका ‘उच्छृङ्खल मन्त्री’ आले : तस्करी मुद्दाका पनि ‘उच्छृङ्खल प्रतिवादी’ रहेको खुलासा, यस्तो छ तथ्य-प्रमाण


काठमाडौं, माघ १६ । तारागाऊँ रिजेन्सी होटलसँग करोडौं रकम कमिशन माग्दै पशुपति क्षेत्र बिकाश कोषको सम्त्तिमा समेत आँखा लगाउनु भएका संस्कृतिपर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले सरकारी कागजातमै उच्छृङ्खल प्रतिवादीका रुपमा दर्ज भएका अभियुक्त रहेको पाइएको छ । २३ बर्षअघि काठ तस्करीको मुद्धामा आलेलाई यस्तो अभियोग लगाइएको तथ्य फेला परेको हो । आलेलाई उच्छृङ्खल प्रतिवादी किटानी अदालतमा मुद्धा दर्ता गर्ने सरकारी अधिकारी हुन संलग्न वनरक्षक प्रेमबहादुर खड्का ।

खड्का डोटीको बुडरमा वनरक्षक भएर काम गर्दागर्दै २०५५ मा उहाँको कार्यक्षेत्रमा काठ तस्करी अचाक्ली भयो। तस्करी अति नै बढेपछि खडकाले जिल्ला वन कार्यालयलाई गुहार्नुभयो। खड्काको जाहेरीमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्‍यो, दुईजनाविरुद्ध। जाहेरीलगत्तै तस्करीमा संलग्न राधेश्याम बडाऐर पक्राउ परे। अर्का आरोपी उम्किए, ती आरोपी हुन प्रधानमन्त्री शेरबहादुर देउवाले लुटन छुट दिनुभएका पर्यटनमन्त्री प्रेमबहादुर आले ।

जिल्ला अदालतमा सुरक्षित मुद्दाको मिसिलमा संलग्न वनरक्षक प्रेमबहादुर खड्काको जाहेरीपत्रमा यस्तो लेखिएको छ–
‘सँगै उजुरी दिएका राधेश्याम बडाऐरलाई २०५५ वैशाख २१ गते पक्राउ गरिसकिएको र अर्का प्रतिवादी आले उच्छृङ्खल मानिस भएकाले पत्र बुझाउन नसकी हुलाकबाट राजिस्ट्री गरी पत्र बुझाए पनि पक्रन नसकेको।’ श्रेणीले सिपाहीसरह वनरक्षक खड्काले उजुरीपत्रमा आफूमाथि खतरा रहेको पनि दर्साउनु भएको छ। ‘उजुरी दिने मेरो ‘शरीर’ ज्यानको खतरा भएकाले सुरक्षा गरिदिन भन्दै जोरायल प्रहरी चौकी बुडरलाई पत्राचार गरिएको छ,’ खडकाको उजुरीपत्रमा लेखिएको छ।

वडास्तरको राजनीति र वन पैदावर कारोबारलाई एकसाथ अगाडि बढाउनु भएका आलेलाई उक्त मुद्दाबाट जसरी पनि जोगिनु नै थियो। उहाँले उक्त मुद्दामा आफ्नो ठाउँमा एक आफन्तलाई उभ्याउनु भया र आफू उम्किनुभयो। मुद्दा कसरी मिलाएर आलेलाई उन्मुक्ति दिइयो भन्ने खोजीको विषय भइरहँदा आलेमाथिको अभियोग चाहिँ निकै प्रष्ट देखिन्छ।

‘२०५५ वैशाख १० गते साविक छतिवन गाविस–९ रुबसकाँडा बस्ने प्रेमबहादुर आले र छतिवन–८ का राधेश्याम बडाऐरसमेतले मिलेर छतिवन गाविसका वडा नम्बर ५ र ८ मा रहेको वनबाट अबैधरूपमा ११ हजार २ सय ३२ दशमलव ८४ क्युफिट काठ कटाएको प्रमाणित भएकाले वन ऐन २०४९ को दफा ४९ (घ) र (ङ) को कसुरमा सोही ऐनको दफा ५० (१) (घ) ४ नम्बरबमोजिम बिगो ४ लाख ४९ हजार ३ सय १४ रुपैयाँ ८० पैसाको दोब्बर रुपैयाँ र एक वर्ष कैद गर्न तथा बरामद काठ जफत गरी कारबाही गरिपाउँ’ भन्दै जिल्ला अदालतमा प्रस्तुत अभियोगपत्रमा उल्लेख छ।

मन्त्री पदको दुरुपयोग गर्दै कमाउ धन्दामा लागेपछि अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले छोटो समयमै बनमन्त्रीबाट आलेलाई हटाउनु भएको थियो । तर अहिले भने प्रधानमन्त्री देउवा र पत्नी आरजु देउवाको आफूलाई दह्रो आशिर्वाद रहेको भन्दै मन्त्रालयको हरेक काममा असुली अघि बढाउनु भएको मन्त्रालय स्रोतले बताएको छ ।