जनता टाइम्स

१६ माघ २०७८, आईतवार २२:०५

स्थानीय निर्वाचनको मिति घोषणाको माग गर्दै देशैभर युवा संघको प्रदर्शन


काठमाडौं, माघ १६ । राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गर्दै देशैभर प्रदशैन गरेको छ । प्रदर्शनको क्रममा संघले आज विभिन्न जिल्लामा प्रदर्शन गरेको हो । आफ्ना गतिविधीलाई तीब्र बनाएको युवा संघले देशभर सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको छ ।

युवा संघले आइतबार रौतहट, पाल्पा, झापा, सिन्धुली र मोरङमा स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा हुनुपर्ने मुख्य बिषयसहित अन्य विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेको हो । संघले स्थानीय तहको निर्वाचन गर, रेणुकुमारी यादवलाई बर्खास्त गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता गर, लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गर’ जस्ता नारा घन्काउँदै पछिल्लो समय विरोध प्रदर्शन देशब्यापी बनाउँदै लगेको हो ।

त्यस्तै, युवा संघले भक्तपुरमा कालो कपडामा ‘प्ले कार्ड’ लिएर सरकारको विरोधमा सडक प्रदर्शन गरेको छ । युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले सरकारको विरोधमा आन्दोलनलाई अझ ब्यवस्थित र सशक्त बनाइने बताउनु भयो । त्यस्तैगरी, युवा संघ नेपालले साताब्यापी रक्तदान कार्यक्रम पनि जारी राखेको छ ।

संघको आयोजनामा धनुषामा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ । युवा संघ नेपाललले शनिबार मात्र एकै दिन काठमाडौंको चावहिल, ललितपुरको मंगलबजार र भक्तपुरको खौमा दरबाबार स्क्यवार, काठमाडौं नयाँबानेश्वरको अल्फाबिटा र काठमाडौंकै सिफलचौरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।