जनता टाइम्स

१८ असार २०७६, बुधबार १६:१८

मिडियामाथि आक्रोश पोख्दै झलनाथ खनालको कडा प्रश्न : जानाजान झुट लेख्नेलाई ‘पत्रकार भन्ने कि पत्रुकार ?’


काठमाडौं, असार १८

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिडियाप्रति पहिलो पटक निकै कडा रुपमा प्रस्तुत हुनुभएको छ । आफ्नो स्वास्थ्यको बारेमा अन्टसन्ट लेखेको बिषयलाई लिएर नेता खनाल मिडियाबिरुद्ध खरो रुपमा उत्रनुभएको हो ।

‘कुनै एउटा सञ्चार माध्यमले झलनाथ खनाललाई रतन्धो लागेको छ भनेर लेख्यो, समाचारमा म राति हिड्न नसक्ने कुरा उल्लेख थियो, मलाई त्यो रोग लागेको छैन, भाविष्यमा पनि लाग्दैन । त्यस्तोलाई पत्रकार भन्ने कि पत्रुकार ?’ संसदको विकास तथा प्रविधि समितिको आजको बैठकमा नेता खनाल भन्नुभयो । सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिपक्षी दलका सांसदले विरोध गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा सांसद खनालले यस्तो आक्रोश पोख्नुभएको थियो ।

‘हुँदै नभएको गलत र बनावटी कुरा लेख्छ भने नियन्त्रण गर्ने कि नगर्ने ?’ खनालको प्रश्न । सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपसमितिले पारित गरेपछि आज छलफलका लागि समितिमा पेश भएको हो । विधेयकमाथिको छलफलमा बोल्दै खनालले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रता दिएको तर त्यो परिभाषित नभएको बताउनु भयो । ‘पत्रकारितालाई स्वतन्त्रता छ । तर, अभिव्यक्ति स्वतन्त्रतालाई कसरी परिभाषित गर्ने ?’, खनालले भन्नुभयो, ‘जे मन लाग्यो त्यही लेख्न पाइन्छ ? मर्यादित ढंगले लेख्नु पर्दैन ?’

उहाँले अधिकारप्राप्त सञ्चार माध्यममलाई नियन्त्रण भन्दा पनि मर्यादित बनाउनुपर्ने बताउनु भयो । ‘नियन्त्रण भन्दा पनि मर्या्दित बनाउनलाई यो विधेयक आएको हो,’ खनालले भन्नुभयो, ‘विधेयकमा केही कमिकमजोरी भए विज्ञसँग बसेर छलफलपछि पारित गरौँ ।’ खनालले आग्रह पूर्वाग्रह नराखी छलफलमा सहभागी हुन बिपक्षी सांसदलाई आग्रहसमेत गर्नुभयो । ‘आग्रह र पूर्वाग्रह नराखौं, छलफल गरेर अगाडि बढौं, सके सर्वसम्मत गरौं, नसके बुहमतीय प्रक्रियाबाट विधेयक पारित गरौं,’ खनालको भनाई थियो ।

पूर्वप्रधानमन्त्री खनालले सरकारमा सत्तापक्ष र विपक्षी भए पनि संसदीय समितिमा राजनीति नगर्न प्रतिपक्षी दलका नेतालाई आग्रह गरे। ‘शेरबहादुर देउवाले विधेयक ठिक छैन भनेर बोल्नुभयो, त्यो उहाँको प्रतिपक्षी दलको नेताको भूमिका अर्थात् हैसियत हो तर, समितिमा राजनीति नगरौं,’ खनालले भन्नुभयो ।