जनता टाइम्स

६ भाद्र २०७५, बुधबार १३:०७

लोकतन्त्रको मर्मअनुसार सूचनाको हकको सम्मान गर्न सरकारी निकायलाई प्रधानमन्त्री ओलीको निर्देशन


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय सूचना दिवशको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिनुभएको हो ।

सन्देशमा प्रधानमन्त्री ओलीले सुचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आहवान पनि गर्नुभएको छ । प्रधानमन्त्री ओलीले राज्यका काम कारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सुचनामा आमनागरिकको पहुँच सरल र सहज हनुपर्छ भन्ने सरकारको धारणा रहेको सन्देशमा उल्लेख छ ।

“नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरातर्फ समेत सजग गराउछु,” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भन्नुभएको छ । सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न प्रधानमन्त्रीले स्मरण गराउनु भएको छ । सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादाविपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सुचना माग्नु उचित नहुने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

वर्तमान सरकार पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र जवाफदेहीताको संस्कृतीमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “सुशासनलाई मजवुद बनाउदै समृद्ध नेपाल, सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको छ ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।