जनता टाइम्स

१९ माघ २०७८, बुधबार ०९:२७

झलनाथ खनालले झुटो बोलेको पुष्टि, एमसीए नेपालले गर्यो भण्डाफोर


काठमाडौं, माघ १९ । मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए(नेपाल) ले पूर्वप्रधानमन्त्री झलनाथ खनालले झुटो बोलेको बताएको छ । एमसीसी सम्झौतासँग सम्बन्धित कुनैपनि विषय वा दस्तावेज नलुकाएको दाबी गरेको हो । एमसीए नेपालले विज्ञप्ति जारी गर्दै एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको जनाएको हो ।

एमालेको सरकारको पालमा एमसीसीसँग सम्बन्धित केही दस्तावेजहरु लुकाइए र त्यसलाई गठबन्धन नेतृत्वको एमसीसी सम्झौता अध्ययन समितिले फेला पारेको भन्दै विभिन्न समाचारहरु सार्वजनिक भइरहँदा एमसीए नेपालले भने यस्तो दाबी गरेको हो ।

‘एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो । र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ’,एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसीको दस्तावेज लुकाइएको आरोप लगाएपछि एमसीए नेपालले यस्तो जवाफ दिएको छ ।