जनता टाइम्स

२० माघ २०७८, बिहीबार १८:५१

छोरा र छोरीबीच गरिने विभेदले महिलाको वृद्धि विकासमा असर


जुम्ला, २० माघ । पुरुषको शक्तिका कारण हरेक महिलाको वृद्धि विकासमा असर परेको जुम्लाका महिलाले बताएका छन् । सर्बोद नेपालको आयोजना र इटालियन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन भएको लैङ्गिक समानता सम्बन्धी कार्यक्रमका सहभागी महिलाले यस्तो बताएका हुन् ।

लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी तालिममा पुरुसत्व, पितृसत्तात्मक महिलाको दैनिकीमा परेको असरका बारेमा जुम्लाका झण्डै १ सय महिलालाई प्रशिक्षण दिइएको थियो । पुरुसत्व, पितृसत्तात्मक महिलामा घरेलु हिंसा निम्त्याएको सर्बोद नेपालकी बोर्ड सदस्य तथा महिला अधिकारका क्षेत्रकी अगुवा रेवती रावलले बताउनुभयो । बच्चा जन्मिने बित्तिकै आमा(बुवाबाटै पुरुसत्व सोचको विकास हुने गरेको उहाँले बताउनुभयो ।

छोरा र छोरीलाई लगाउने कपडा, शिक्षा, खानपिनबाटसमेत विभेद हुने गरेको उहाँले बताउनुभयो । सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्रीले पुरुषको ठाउँमा महिला ल्याउनको लागि ठूलो भूमिका खेल्नुपर्ने बताउनुभयो । यसका लागी महिला स्वयं सक्षम हुन जरुरी रहेको उहाँको धारणा थियो । २१औं सताब्दीमा समेत महिला कमजोर हुनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो । ‘महिलालाई निरिह र कमजोर पार्न समाजकै कारक तत्त्व सक्रिय छन् ।

यसको विरुद्धमा महिलाहरू एक हुन आवश्यक छ,’ उहाँले भन्नुभयो । तातोपानी–३ की लालकली बुढाले पुरुषवादी सोचले नै आफूहरूले विभेद खेप्नु परेको बताउनुभयो । तिला गाउँपालिकाकी स्थानीय महिला लालकुरा सार्कीले पनि हरेक क्षेत्रमा पुरुषहरू नै हाबी हुने गरेको गुनासो गर्नुभयो । उहाँले महिलाको सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा पहुँच नभएको बताउनुभयो ।

पाताारासी गाउँपालिकाकी स्थानीय देवीडोल्मा तामाङले छोराछोरीबीचको विभेद जुम्लावासी महिलाका लागि चिन्ताको विषय बन्ने गरेको बताउनुभयो । उहाँले पातारसीमा बालविवाह हुने गरेको गरेकाले पनि महिलाहरू सानैमा बढी महिला हिंसाको सिकार हुने गरेको बताउनुभयो ।

तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले सानै उमेरमा आफूखुसी विवाह गर्ने गरेकाले पनि समस्या पैदा भइरहेको बताउनुभयो । सानो उमेरमा विवाह गरेका कारण परिवारभित्र तनाव, झगडा उत्पन्न हुने र यस्तो परिस्थितिमा युवतीको जीवन जोखिममा पर्ने गरेको बुढाले सुनाउनुभयो ।