जनता टाइम्स

१९ असार २०७६, बिहीबार १४:०३

गैरसरकारी संस्थालाई जवाफदेही बनाउन नयाँ ब्यवस्था गरिएको अर्थमन्त्री खतिवडाको खुलासा


गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरिएको छ

ललितपुर, असार १९

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउने प्रकृया अघि बढाएको जनाउ दिनुभएको छ । ललितपुरमा आजदेखि सुरु भएको ‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एशीया’ विषयक तेस्रो अन्तराष्ट्रिय सम्मेलनको उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले सो जानकारी दिनुभएको हो ।

गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन तीनै तहका सरकारसँग अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले प्रष्ट पार्नुभयो । ‘गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरिएको छ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

संघीयतालाई सफल बनाउन तीन वटै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको तथ्य पनि अर्थमन्त्री खतिवडाले राख्नुभयो । संघीयता मुलुकका लागि नयाँ अभ्यास भएपनि त्यसलाई सफल बनाउन संघीय सरकारले प्रदेश र स्थानीय तहमा पनि अनुमति लिएर गैर सरकारी संस्थाहरुले काम गर्न पाउने नीतिगत व्यवस्था गरेको प्रष्ट पार्नुभयो ।

संविधानले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानीलगायतलाई मौलिक हकमा राखेकाले त्यसलाई कार्वान्वयनमा लैजान नीति क्षेत्र र गैर सरकारी संस्थाहरुले पनि महत्वपूर्ण योगदान दिन सक्ने उहाँको भनाई थियो । भोलिसम्म चल्ने सम्मेलनले दक्षिण एशीयाली राष्ट्रहरुबीच सार्वजनिक नीति र प्रशासनमा साझा धारणा तय गर्न सघाउन पुर्याउने बताइएको छ ।