जनता टाइम्स

२६ माघ २०७८, बुधबार १७:१०

हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध


खलङ्गा, २६ माघ । जुम्लामा तेस्रो पटक परेको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । यही माघ २० गते साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख सन्तोष भण्डारीले बताउनुभयो ।

नाग्म–गमगडी सडकको जुम्ला बोतादेखि मुगुको पिनासम्म सडकमै झन्डै दुई फिटभन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । कालीकोट, जुम्ला र मुगु जोड्ने सीमा क्षेत्र बुलेबुलेमा बाक्लो हिउँ जमेको छ । हिउँ पन्छाउन मेसिन तयारी अवस्थामा राखिएको छ । उहाँका अनुसार घाम लागेको खण्डमा दुई दिनभित्र सडक सञ्चालन हुन सक्छ ।

तत्काल भने सडक खुल्ने सम्भावना छैन । सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको छ । अघिल्लो पटकको हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक खुलेको केही दिनमै भारी हिमपातले पुनःअवरुद्ध भएको स्थानीयवासी बताउँछन् ।

जुम्ला हुँदै मुगु राराताल जाने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा न्याउरीघाट बुलबुले जोड्ने सडक पनि पूर्णरूपमा अवरुद्ध भएको छ । उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् । आज जुम्लालगायत कर्णालीका माथिल्ला जिल्लाका उच्च स्थानमा हिमपात भइरहेको छ ।

अनलाइनबाट विद्युत्को बिल भुक्तानी सेवा सञ्चालन

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाले विद्युत्को अनलाइन बिल भुक्तानी सेवा सुरु गरेको छ । मङ्गलबार नेपाल विद्युत् प्राधिकरण जुम्लाले एक सूचना जारी गर्दै अनलाइन भुक्तानी सेवा सुरु गरेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रले अब अनलाइन भुक्तानीबाट बिल तिर्न सकिनेछ ।

जहाँबाट जहिले अनलाइनबाट विद्युत्को बिल तिर्न सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख नरेश रावलले जानकारी दिनुभयो । अनलाइनमार्फत बिल भुक्तानी गर्दा कार्यालय धाउनुनपर्ने सेवाग्राहीलाई सहज र झन्झटरहित भएको कार्यालय प्रमुख रावलले बताउनुभयो ।

सो अनलाइन सेवाले गर्दा सेवाग्राहीलाई छिटोछरितो र आफ्नो समय अनुकूल भुक्तानी गर्न सकिनेछ । सेवाग्राहीले अनलाइन भुक्तानी गर्दा महसुल सङ्कलन काउन्टर थप गर्नु नपर्ने, जनशक्ति माथिको लागत घट्ने र भएका जनशक्तिलाई अन्य कार्यमा लगाउँदा प्रभावकारी सेवा दिन सकिने केन्द्रले जनाएको छ ।