सप्तरी, २७ माघ । सप्तरीको राजविराजमा आज आयोजित अन्तरक्रियाका सहभागीहरूले राजनीतिक हस्तक्षेप नरोकिएसम्म महिला हिंसा अन्त्य नहुने बताएका छन् । उनीहरूले समाजमा विद्यामान हानिकारक अभ्यासहरू: बालविवाह, तिलक, दहेज प्रथा, बोक्सी आरोप लगायत०सम्बन्धी राजनीतिक संरक्षाणकै कारण अन्त्य नभएको जोड दिएका छन् ।
राष्ट्रिय महिला आयोगको आयोजना तथा औपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीको समन्वयमा आयोजित कार्यक्रमका वक्ताहरूले समाजमा रहेको विकृति परापूर्व कालदेखि हावी हुँदै आएको बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले संरचनागत विभेद महिलामाथि हुने हिंसाको मुख्य कारक भएको बताउनुभयो ।
उहाँले राजनीतिक हस्ताक्षेपका कारण समाजमा अराजकता र दण्डहिनता बढ्दै गएकोले महिला हिंसा न्यूनिकरणका लागि राजनीतिक हस्तक्षेप बन्द हुनु पर्नेमा जोड दिनुभयो । समाजसेवी एवं साहित्यकार करूणा झाले दाईजो प्रथा र बालविवाहको अवस्था अहिले पनि जिल्लामा डरलाग्दो भएकोले यसको न्यूनिकरणको लागि सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।
परिकल्पना नेपालका अध्यक्ष एवं महिला मानव अधिकार रक्षक संजाल सप्तरीका उपाध्यक्ष सुधा देवले जिल्लामा पावर र पहुँचबालाकै हरेक क्षेत्रमा वर्चस्व रहेकोले महिला हिंसा न्युनिकरण गर्न समस्या रहेको बताउनुभयो । उहाँले सम्बन्धित निकायले आफ्नो व्यवहार परिवर्तन नगरेसम्म, कानुन एकातिर र व्यवहार अर्कोतिर हुने बताउनुभयो । जसले महिला हिंसा न्यूनिकरणको कल्पना पनि गर्न नसक्ने उहाँको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, मिडिया प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, जिल्लाका स्थानीय निकायका उपप्रमुख उपाध्यक्षहरू, जिल्लाका सरोकारवाला निकायहरूले महिला हिंसा न्युनिकरणका लागि आ–आफ्ना स्तरबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्