जनता टाइम्स

२९ माघ २०७८, शनिबार २०:३०

अरुण नदीको बेलिब्रिज भाँचियो, तीन ट्रक बीच पुलमै फसे


संखुवासभा, २९ माघ । संखुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नम्बर–१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । आज दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिनुभयो ।

निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको तीन वटा लोवेट ट्रक पुल भाँची पछि अरुण नदीमा खसेको कार्यपालिका सदस्य याम्फुले बताउनुभयो । ट्रकमा सवार चालक र सहचालक भने कुसल नै रहेको छन् । अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ ।

पुलको भन्दा बढी क्षमताभन्दा सामाग्री बोकेर एकै पटक तीन बटा ट्रक तर्ने क्रममा फुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताउनुभयो । तीन वटै लोवेट ट्रक हाइड्रो पावरको निर्माण सामाग्री लिएर वालुङतर्फ गएका थिए । दुई वटा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरू आयोजना स्थल गएका थिए ।

पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीन वटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उहाँको भनाइ छ । चालक र सहचालकलाई भने स्थानीयले उद्धार गरेका छन् । २०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको हो ।