जनता टाइम्स

१ फाल्गुन २०७८, आईतवार ०९:०९

रामेछापको सवै स्थानीय तहमा एमाले बिजयी हुन्छ : कैलाश ढुंगेल


रामेछाप, फागन १ । नेकपा एमालेका केन्द्रीय सदस्य कैलाशप्रसाद ढुंगेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमालेलाई निध्याउन राष्ट्रघात गर्न मिल्छ त ? भन्दै प्रश्न गर्नुभएको छ ।

प्रचण्डले एमालेलाई निध्याउन र गठबन्धनलाई जोगाउन एमसीसीमा हस्ताक्षर गरेको अभिव्यक्ति दिइरहेको बेला एमाले नेता ढुङ्गेलले एमसीसी राष्ट्रघाती भए किन पास गर्छौँ भनेर हस्ताक्षर गरेको भन्दै प्रश्न गर्नुभएको हो । ‘एमसीसी राष्ट्रघाती र आपराधिक छ भन्ने मान्छेले गठबन्धन जोगाउन र एमाले निध्याउन राष्ट्रघात र अपराध त गर्न पाईँदैन होला नि’, प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढुङ्गेलले भन्नुभयो ।

ढुङ्गेलले सरकारलाई स्थानीय तह निर्वाचन घोषण गराउनको लागि सरकारलाई दबाब सिर्जना गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मिडियाले दबाब नदिएको र विद्यार्थी र युवाले आगो बोकेर सडकमा नझरेको भए निर्वाचन घोषणा नहुने बताउनुभयो ।

आगामी स्थानीय तहको निर्वाचनमा रामेछापका सबै स्थानीय तहमा एमालेले चुनाव जित्ने पनि उहाँले बताउनु भयो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको आठ ओटै स्थानीय तहमा सूर्य उदाउने उहाँले बताउनुभयो ।

एमाले अर्को दलसँग मिलेर चुनावमा नजाने उहाँले प्रष्ट पार्नुभयो । माओवादी, कांग्रेस लगायतका दललाई त्यो आँट गर्न उहाँले आग्रह गर्नुभयो । आफू वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहँदा रामेछापमा विकासको बहार ल्याएको ढुङ्गेलले बताउनुभयो । ढुङ्गेलले फेरी स्थानीय तहदेखि प्रदेश र संघसम्म एमालेले जित्ने र बाँकी विकास निर्माणको काम पूरा गर्ने उहाँले बताउनुभयो ।

आइतबार एमाले रामेछाप जिल्ला कमिटीको बैठक बस्ने र आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै पालिकामा एमालेको जीत हुनेगरी विशेष योजना बनाउने उहाँले बताउनुभयो । १३ हजार बढी एमालेका सदस्यलाई निर्वाचन नसकिएसम्म ६४ वटै वडामा परिचालित गरिने उहाँले जानकारी दिनुभयो ।