जुम्ला,२ फागुन । जुम्ला विमानस्थल स्तरउन्नतीका लागि संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायबीच भेटवार्ता भएको छ । भेटमा दईइमन्त्री बीच जुम्ला विमानस्थलको धावनमार्ग स्तरउन्नती गरेर ठूला जहाज अवतरण गर्ने बिषयमा छलफल भएको हो ।
दुईमन्त्रीबीच धावनमार्ग विस्तारका बारेमा पहिलो चरण छलफल भयो पूर्वाधार तथा सहरी विकास मन्त्री रोकायाका स्वकीय सचिव अमर रोकायाले भन्नुभयो, ‘विमानस्थलको धावनमार्ग विस्तार बारेमा पर्यटनमन्त्री आले सकारात्मक देखिनुभएको छ । दुर्गम क्षेत्रको हवाई सेवा व्यवस्थापनमा निकै चासो देखाउनु भएको छ । ’
पर्यटनमन्त्री आलेले धावनमार्ग विस्तारका लागि तत्काल पहल थालिने आश्वासन दिएको स्वकीय सचिव रोकायाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ठूलो जहाज अहिले बस्न नसक्दा कर्णालीको हवाई यात्रा निकै कष्टकर बनेको छ । विमास्थल स्तरउन्नती गरेर ठूलो जहाज चल्न सकेको खण्डमा निकै सहज हुने देखिन्छ । जसका लागि संघीय सरकार सकरात्मक छ । कर्णाली प्रदेश सरकार पनि प्रतिबद्ध देखिन्छ ।’
पर्यटनमन्त्री आलेले तत्काल जुम्लामा प्राविधिक टोली खटाउने बताउनुभएको छ । प्राविधिक टोलीको प्रतिबेदन आएपछि जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाइने दुइमन्त्री बीच छलफल भएको थियो । ‘कर्णालीबासीको माग र आवश्यकतालाई हेरेर ठुला जहाज अवतरण गराउने उद्धेश्यका साथ विमानस्थल स्तोरोन्नतीको पहल भइरहेको छ’ कर्णालीका भौतिक पूर्वाधार मन्त्री रोकायाले भन्नुभयो, ‘तत्काल तीन सय मिटर धावनमार्ग विस्तार गर्दै थप स्तोरोन्नतीको प्रक्रिया क्रमश अघि बढ्नेछ ।’
रोकाया कर्णालीको पुर्वाधार मन्त्री भएपछि जुम्ला विमानस्थल विस्तारका लागि पहल गर्न थाल्नुभएको हो । मन्त्री रोकायाले थप्नुभयो,‘कर्णालीमा ठुला जहाज चल्न सक्ने विमानस्थल छैनन । त्यसका लागि जुम्ला विमानस्थल नै उपयुक्त हो । अब विमानस्थल विस्तार गरेर ठुला जहाज अवतरण गरेर हवाइ सेवा सहज बनाउन पहल भइरहेको छ । यसमा सबैको साथ र सहयोग चाहिने देखिएको छ । ’
हाल जुम्ला विमानस्थलको धावनमार्ग ६ सय ७५ मिटर छ । जसका कारण साना कार्गो जहाज मात्रै अवतरण हुदै आएका छन् । विमानस्थलको धावनमार्ग १५ देखि १८ सय मिटरसम्म विस्तार गर्नसके ठुला जहाज सजिलै अवतरण गर्न सकिने संभावना छ । तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीले जुम्लामै पुगेर जुम्ला विमानस्थलमा मध्यम खाले जहाज अवतरण गर्ने गरि पहल थाल्ने बताउनुभएको थियो । तर उहाँको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपनि विमानस्थल विस्तारको कुनै पहल हुन सकेको थिएन ।













प्रतिक्रिया दिनुहोस्